काठमाडौं, चैत्र १० । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोलीका प्रहरी लुटपाट गर्ने क्रममा पक्राउ परेका छन्। काठमाडौंबाट लुटपाट गर्न मकवानपुर गएको अवस्थामा प्रहरीको सीआरभी टोली पक्राउ परेको हो।
पक्राउ पर्नेमा महानगरीय प्रहरी बृत्त दरबारमार्गमा कार्यरत रही महानगरीय प्रहरीको सीआरभी टोलीमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्रबहादुर बसेल, प्रहरी जवानहरु हेमकान्त मगर र वीरबहादुर बस्नेत छन्। उनीहरुसँग एकजना पत्रकार पनि पक्राउ परेका जनाइएको छ। पक्राउ परेका पत्रकारको नाम सुजन आचार्य भनिए पनि उनी कुन सञ्चारमाध्यममा कार्यरत हुन भन्ने विषय भने खुलेको छैन।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सीआरभी टोलीका सदस्यहरु लुटपाट गर्ने क्रममा पक्राउ परेको पुष्टि गरे।
‘यहाँबाट मकवानपुर गएर लुटपाट गर्ने क्रममा पक्राउ परेको सूचना मैले पनि पाएको छु,’ डीआईजी पोखरेलले भने, ‘अपराधिक घटना रोक्ने जिम्मेवारी पाएकाबाटै अपराध भएको छ। यस्तो घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही हुन्छ।’
डीआईजी पोखरेलका अनुसार मकवानपुर प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध डाँका मुद्दामा अनुसन्धान शुरु गरिसकेको छ।
महानगरीय प्रहरी कार्यालय रानी पोखरीले केही समय अगाडि मात्रै घुमुवा प्रहरीको टोली हटाएर विशेष प्रकारका अपरेशन र सूचना संकलनका लागि सीआरभी टोली खटाएको थियो।