काठमाडौं, चैत्र १० । सरकारले ९ चैत्र २०७६ देखि १८ चैत्र २०७६ सम्म सबै अन्तर्राष्ट्रिय वायुसेवाको नेपाल उडान स्थगित गर्ने निर्णय सोमबारदेखि निर्णय लागू भएको छ।
सबै विदेशी वायुसेवाका उडान बन्द गरिएकोले आज सोमबारदेखि १८ चैत्रसम्म अन्तर्राष्ट्रिय विमानस्थल ठप्प हुने छ। सरकारको निर्णयपछि नेपालमा उडान गरिरहेको २८ वटा वायुसेवा कम्पनीको करिब ६५ वटा उडान प्रभावित भएका छन्।
उडान प्रतिवन्धको समयमा अन्तर्राष्ट्रिय वायुसेवाले आकस्मिक उडान भने गर्न पाउने छन्। नेपालले उडान विदेशी वायुसेवालाई खाली आएर नेपालबाट यात्रु लैजान भने पाउने छन्। यसका लागि सम्बन्धित वायुसेवाले आकस्मिकको घोषणा गरेर पूर्व अनुमति भने लिनुपर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।
प्राधिकरणका अनुसार विदेशी वायुसेवाको उडान नहुने भएपनि आकस्मिक सेवाका लागि कर्मचारी भने खटाइरहनु पर्ने भएकोले दुई सिफ्ट गर्ने तयारी भएको पनि जानकारी दिएको छ।
यो अवधिमा आन्तरिक उडान भने नियमित हुने नेपाल नागरिक उड्डयन प्राधकिरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए। आन्तरिक वायुसेवाले भने उडान संख्या घटाएर उडान गरिरहेका छन्।
उनका अनुसार कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न लिइएको यो निर्णयका कारण अन्तर्राष्ट्रिय विमानस्थल पनि सुनसान हुने छ। अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपनि विमानस्थलमा कार्यारत प्राधिकरणका ४५० कर्मचारी सबै आउनु नपर्ने भएकोले आधाले विदा पाउनेछन्। अहिले तीन सिफ्ट गरेर कर्मचारी खटाउने गरिएको छ।
प्राधिकरणका अनुसार कर्मचारीलाई मिलाएर विदा दिने विषयमा पनि प्राधिकरणले छलफल गरिरहेको छ।