काठमाडौं, फागुन २८ । पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विष्फोट गराउने विप्लव कार्यकर्ता पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विप्लव समूह भक्तपुर जिल्ला समिति कमिटी सदस्य देव गुरुङ रहेका छन्। उनलाई जडिबुटीस्थित सुकुम्बासी बस्तीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए।
बुधबार बिहान पौने ८ बजे पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट गराइएको थियो।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीले घटनाको भर्त्सना गरेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न अपराधिहरुलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरिएको छ।
त्यस्तै विप्लव नेतृत्वको पार्टीले घटनाको जिम्मेवारी लिँदै १० बुँदे विज्ञप्ति सार्वजनिक गरेको छ। १० बुँदे विज्ञप्तिमा पूर्वमन्त्री बाँस्कोटालाई विभिन्न कान्डमा मुछिएको आरोप लगाइएको छ।


























