काठमाडौं, फागुन २८ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण एक सय १९ देशमा पुगिसकेको छ। अहिलेसम्म एक लाख १९ हजार दुई सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ। सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार दुई सय ९९ पुगेको छ।
कोरोनाबाट सबैभन्दा धेरै चीनमा तीन हजार एक सय ५८ जनाले ज्यान गएको छ। पछिल्लो २४ घण्टामा चीनमा २२ जनाको ज्यान गएको छ। ८० हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएकोमा ६१ हजार चार सय ८९ उपचारपछि घर फर्किएका छन्। अझै १६ हजारभन्दा धेरैमा सङ्क्रमण यथावत छ।
चीनपछि सबैभन्दा धेरै इटलीमा ६ सय ३१ जनाको ज्यान गएको छ। इटलीमा १० हजार एक सय ४९ जनामा सङ्क्रमण देखिएकोमा एक हजार बढी उपचारपछि घर फर्किएका छन्।
कोरोनाको सङ्क्रमण बढेपछि इटलीमा देशभरिको नाका बन्द गरिएको छ र मानिसहरुलाई आपत्कालिन अवस्थाबाहेक हिँडडुल नगर्न भनिएको छ।
सङ्क्रमणबाट इरानमा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ९१ पुगेको छ। अझै पाँच हजार २० जनामा सङ्क्रमण छ। अहिलेसम्म आठ हजार ४२ जनामा सङ्क्रमण देखिएकोमा दुई हजार सात सय ३१ जना उपचारपछि घर फर्किएका छन्।
त्यस्तै दक्षिण कोरियामा ६१ जनाको ज्यान गएको छ। गएको पछिल्लो २४ घण्टामा दुई सय ४२ जना नयाँ सङ्क्रमित देखिएपछि सङ्क्रमितको सङ्ख्या सात हजार सात सय ५५ जना पुगेको छ। दुई सय ८८ जना निको भएर घर फर्किएका छन्।
फ्रान्समा ३३ जना, स्पेनमा ३६ जना र अमेरिकामा ३१ जनाको ज्यान गइसकेको छ। बेलायतमा स्वास्थ्य मन्त्री नदिना डोरीस पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन्।
दक्षिण एसियाको कुरा गर्दा भारतमा सङ्क्रमितको सङ्ख्या ६२ पुगेको छ। चीनमा कोरोनाको सङ्क्रमण घट्दै गए पनि अन्यत्र बढ्दै जाँदा चिन्ता बढ्दै गएको छ।






















