चितवन, फागुन १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सबै दलका ठूला नेताले नाती–पनातीसम्मलाई पुग्ने गरी सम्पति कमाएको आरोप लगाएका छन्।
उनले ठूला नेताहरुले यतिविधि सम्पत्ति आर्जन गरेको मात्र नभई आफन्तलाई जागिर खुवाएको समेत आरोप लगाए। उनले ठूला दलका शीर्ष तहका रहेका कोही पनि नेताबाट देशले कुशल नेतृत्व पाउन नसक्ने उल्लेख गरे।
उनले भने, ‘ठूला दलका ठूला नेताबाट देश चल्दैन’, भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग भण्डारीले भने, ‘हामीले यिनीहरुको हविगत देखिसक्यौं। जनताले पनि देखिसके।’ पार्टी फरक भए पनि ठूला नेताको चरित्र समान रहेको भन्दै भण्डारीले कटाक्ष गरे।
नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर पहिलो पुस्ताका नेताहरु बाहिरिनुपर्ने माग उनले गरे। शीर्ष नेताहरुलाई वानजीको संज्ञा दिँदै पाण्डेले फाइभजीका युवाहरुका भावना वानजीका नेताले बुझ्न नसक्ने टिप्पणी गरे। उनले शीर्ष नेतालाई ‘बाँदरको झुण्ड’ को संज्ञा समेत दिए।






















