– विनोद अनुज
केही समयदेखि सोचिरहेको थिएँ एउटा लेख लेखुँ, बहरवादी र गैरबहरवादीको बीचमा रहेर, गजलको मध्यरेखामा बसेर। मलाई थाहा छ यो बीचमा बस्नु सकसपूर्ण काम हो। यस्तो बसाइमा दुवैतर्फको हप्कीदप्की सहनुपर्छ। हामी अरु कसैले पूर्णरूपमा आफ्नो पक्ष लिइदेओस् भन्ने चाहन्छौं। तर म दुवैतर्फ समर्थन र प्रश्न गर्दैछु। अर्को दुस्साहस पनि गर्दैछु सिद्धान्तको बारेमा बोल्न खोजेर। विशुद्ध सिर्जनामा रमाउनुपर्ने मान्छे म हालसम्म कुनै निचोड नदेखिएको बहसमा होमिनु हुन्थेन। तर कथाले माग्यो र आएँ।
त्यसमाथि गजल महोत्सवमार्फत् मैले लेख्न–बोल्न नपर्ने गरी केही आउला भन्ने लागेको थियो। तर महोत्सवको घोषणा पत्रले झन् अन्योल बढाएको देखियो। घोषणा पत्रमा हस्ताक्षर गर्नेहरूले यसलाई प्रष्ट्याइदिएको भए हुने थियो तर उहाँहरू आफैं स्पष्ट नभएको हो की जस्तो प्रतित भयो। मैले जे बुझें त्यो लेख्दैछु। मैले बुझेको आसय साँच्चै घोषणा पत्र मार्फत् भन्न खोजिएको हो या होइन हस्ताक्षरकर्ताहरूले नै भन्नुहोला तर यो सबैलाई स्वीकार्य हुन सक्ने (सफल अवतरणको चाहना भएमा) बन्नेछ भन्ने मेरो विश्वास छ।
000
निकै राम्रो सुरुवात भयो। नेपाल प्रज्ञा प्रतिष्ठानको पहलमा गजल महोत्सवको आयोजना भयो। गजललाई सौतेनी व्यवहार गरियो भन्ने हल्लाहरूको बीचमा प्रतिष्ठानले गजललाई स्थान दियो, महोत्सवको रूपमा, त्यो पनि २२ सालदेखि आयोजना गरिएको कविता महोत्सवको गरिमालाई माथ गर्नेगरी (कार्यक्रम समिक्षक डा. बिन्दु शर्माको भनाइ सापटी लिएको हुँ)। आयोजकले स्रष्टा छनोटमा केही कमजोरी भएको भए आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाएको पनि छ।
कार्यक्रम
केही मन्तव्य, शुभकामनासहित उद्घाटन सत्र सकियो। गजल वाचनको सत्र सुरू भयो। ‘वाचन’ भनिए पनि तरन्नुममा थुप्रै गजलहरू प्रस्तुत भए। यहाँसम्म की तरन्नुमको सेसनमा छानिएका केही स्रष्टाहरूको भन्दा पनि राम्रा आवाज यसमा सुनिए। दर्शक, स्रोताले रुचाएका गजलमध्ये अधिकांश तरन्नुममा थिए। त्यसपछिको तरन्नुमको सेसनमा पनि केहीलाई छोडेर राम्रा गजल र आवाज सुनिए जसलाई ‘मास’ले पनि अनुमोदन गर्यो। मलाई चाहिँ मासले गजल बहरमा वा गैरबहरमा भन्ने बहसलाई पछि पारेर गजल तरन्नुममा नै सुनाउनुपर्छ भन्ने अनुमोदन गरेको महसुस भयो। यो मेरो व्यक्तिगत अनुभूति मात्रै पनि हुन सक्छ।
दोस्रो दिन कार्यपत्र (गोष्ठीपत्र) प्रस्तुत भए। परिसंवाद आयोजना भयो। प्रादेशिक प्रतिवेदन सुनाइयो। परिसंवादको विषय पूर्व जानकारी नगराइएको भए पनि अनुमान गरिए अनुरूप गजलमा बहरको प्रयोगको विषयमा नै केन्द्रित रह्यो। कार्यपत्र र परिसंवादको समयमा केही चर्का स्वरहरू पनि सुनिए। तर सामाजिक सञ्जालमा बहरमा गजल नलेख्ने स्रष्टाहरूको शब्द जति चर्को लाग्थ्यो, कार्यक्रममा त्यो आवाज अपेक्षित चर्को लागेन। सायद मञ्चमा ज्ञानुवाकर पौडेल हुनु तथा घोषणा पत्र तयारी समितिमा खगेन्द्र गिरी कोपिला र बाबु त्रिपाठीजी भएपछि आफ्नो आवाजको सम्बोधन हुने कुरामा उनीहरू ढुक्क थिए।
चर्को बोल्नेहरूमा बढीजसो बहर पक्षधरहरू हुनुहुन्थ्यो। एक त मञ्चबाटै घनेन्द्र ओझाले गुरूहरूलाई रोषकै शैलीमा आफ्नो मत राख्नुभयो भने फ्लोरबाट आवाज शर्माको आवाज पनि चर्कै सुनिएको थियो। (क्षमा चाहन्छु है। तपाइँहरूको आवाज सायद त्यस्तो नभएको हुन सक्छ। मलाई व्यक्तिगत रूपमा यस्तो लागेको मात्रै हुन सक्छ।) कार्यक्रम सञ्चालक (नाम बिर्सिएँ)ले बारम्बार रोक्न खोज्दा पनि रोकिनुभएको थिएन। रोकिनु पनि भएन नि। ‘रोक्नू’ भन्दैमा आफ्नो कुरा नराखी माइक छोड्न पनि भएन नि है। बहरमा नै गजल लेख्नुपर्छ भन्ने मान्यता राख्ने डा. घनश्याम न्यौपाने परिश्रमी (गोष्ठीपत्र तयारकर्ता), डा. कृष्णहरी बराल (घोषणा पत्र तयारी समिति संयोजक), कार्यपत्रका समिक्षक डा. सनतकुमार वस्तीको आवाजमा सालिनता थियो। सायद उहाँहरूको उमेर र अग्रज हुनुका नाताले पनि चर्काचर्कीमा सहभागी हुन सुहाउन्नथ्यो होला।
कार्यपत्र १ – ‘नेपाली गजल: परम्परा र प्रवृत्ति’ (टिकाराम उदासी)
डा. सनतकुमार वस्ती भन्नुहुन्छ- ‘गजलको कुनै विषय हुँदैन। यो त कालजयी हुन्छ।’ विम्ब र प्रतिकको प्रयोग हुने भएकोले यसमा प्रयुक्त विम्बले कुनै पनि विषयलाई संकेत गर्न सक्छ र यस्तो गर्न नसक्ने सेर मर्छ। त्यो त कुनै अखबारको समाचार जस्तो हुन्छ भन्ने राय उहाँ दिनुहुन्छ। तर टिकाराम उदासीले प्रस्तुत गर्नुभएको कार्यपत्र सा-साना चालीस विषयहरूको चर्चामा समेटिएको छ। न यसमा संरचनागत प्रवृत्तिको कुरा गरिएको छ, न विम्ब र प्रतिकको प्रयोगको विषयलाई स्थान दिइएको छ। घोषणा पत्रले बोलेको बहर वा छन्द वा मौलिक लय वा चमत्कारपूर्ण गजलको सेरका प्रवृत्तिको बारेमा नबोलीकन यो गोष्ठीपत्र समेटिएको छ।
कार्यपत्र २ – ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ (डा. घनश्याम न्यौपाने ‘परिश्रमी‘ र घनेन्द्र ओझा)
शीर्षकले सबैकुरा बोलेको छ। थप बोल्न पर्ने कुरा केही छैन। तर अचम्म लाग्यो शीर्षक चयन। गजल सिद्धान्तको बारेमा कार्यपत्र लेख्नुपर्ने समय हो यो जस्तो लागेको थिएन मलाई। गजलमा बहरको प्रयोगको कुरा गर्नुपर्ने भएकोले यसलाई सिद्धान्तत: प्रामाणित गर्नको लागि समावेश गरिएको हुन सक्छ। तर कार्यपत्रमा तिनै कुराहरू छन् जुन केही वर्ष पहिले नै प्रकाशित पुस्तक ‘गजल सौन्दर्य र मिमांशा’मा उल्लेख छन्। फेरि यो पुस्तक अरूले नभई स्वयम् कार्यपत्र लेख्नुहुने घनश्याम परिश्रमीले लेख्नुभएको हो। यो कार्यपत्र दोहोर्याएर पढ्नुमा खासै फाइदा देखिनँ। घनेन्द्र ओझाको पुस्तक मैले पढ्न पाएको छैन, त्यसैले बोल्न सकिनँ। क्षमा चाहेँ।
नांगै जन्मेर नांगै मर्नुपर्ने मान्छेले जिन्दगीभर कपडा लगाएर बाँच्न पाउँदैन भन्ने अडान राखिन्छ र? त्यसो भए एउटा विधाको सिद्धान्तमा अडान कहिलेसम्म अडिएला? बुझ्नु जरुरी छ कि हरेक अडानहरू परिवर्तन हुन्छन्, समयसँगै, समयको मागसँगै।
यसबाहेक अर्को एक कुरा पनि त्यहाँ उजागर भयो, जसले गजल हिमायती र सर्जकलाई थप उल्झनमा राखिदियो। घनश्याम परिश्रमीले केहीपटक दोहोर्याउनुभयो की यो कार्यपत्र दुई जनाले मिलेर तयार गरेको भए पनि उल्लेखित केही सन्दर्भ र विषयमा उहाँहरू दुवैजनाका असहमति छन्। पहिले नै गजलकारहरू अन्योलमा छन्। अग्रजहरूको विवादको बीचमा के सहि के गलत भन्ने निर्क्योल निकाल्न नयाँ पुस्तालाई फलामको चिउरा चपाउनुभन्दा कठीन भइरहेको छ। बहरमा लेख्नै पर्ने की नपर्ने भन्ने विषयमा निर्णय गर्न नसकिरहेको अवस्थामा मात्रा गिराउन पाउने कि नपाउने भन्ने अर्को जटिलता छ भन्ने सुन्दा नयाँ पुस्ता बहरको नाम सुन्ने बित्तिकै चार कोस पर भाग्ने अवस्था सृजना हुन्छ भन्ने मलाई लाग्छ। तपाइँहरू आफू-आफू मै सहमत हुन सक्नुभएको छैन भने बहरमा लेख्न पर्दैन भन्नेहरूलाई सहमतिमा ल्याउन झन कठीन हुन सक्छ भन्ने लागेन? पहिला आफू-आफू मै समझदारी त बनाउनुस्।
शास्त्र:
‘अमीर खुशरोदेखि आजसम्म गजलको परिभाषाका करोडौं पुस्तकहरू प्रकाशित भए तर राम्रो सेरको परिभाषा स्वयम् त्यही सेर हो।’ – शकील आजमी।
कार्यपत्र प्रस्तुतिको क्रममा घनेन्द्र ओझाले बारम्बार ‘शास्त्र’ शब्दको प्रयोग गर्नुभयो। भनिएको छ, ‘पूर्णत: गजलको सैद्धान्तिक मान्यता र परम्परालाई मात्र यस कार्यपत्रमा समेटिएको छ। गजलको परम्परागत शास्त्रीय मान्यता बाहिरका रचना परम्परालाई यस गोष्ठीपत्रको अङ्ग बनाइएको छैन।’ (कार्यपत्र हो की गोष्ठीपत्र भन्नेमा नै उहाँ स्पष्ट हुनुहुन्न। कतै गोष्ठीपत्र कतै कार्यपत्र लेखिएको छ। यी दुइटैको अर्थ एउटै होला सायद। त्यसैले यो लेखमा पनि दुवै उल्लेख हुन पुगेको छ।)
यहाँ उल्लेख गरिएको र घनेन्द्रजीले बारम्बार व्यक्त गर्नुभएको शास्त्रप्रति जिज्ञासा पैदा भयो। अमीर खुशरोले पहिला शास्त्र तयार गरेर गजल लेख्न सुरू गरेका रहेछन् की त्योभन्दा पनि पहिले कसैले लेखिदिएको शास्त्र फेला परेको रहेछ? (माफ गर्नुस् है। मलाई गजलको शास्त्रियतामाथि कुनै आपत्ति छैन। विरोध पनि होइन र मैले नमान्ने गरेको वा मान्दिनँ भन्न खोजेको पनि होइन। तपाईंको शास्त्रमा अटाउन नसकेका गजलहरूको माया लागेकोले मात्रै यसमा अल्झिएको हुँ।)
महोत्सवमा स्वयम् तपाईंहरूले तयार गरेको जस्तै घोषणापत्र सुरूमा कसले, कहिले तयार गरेर गजल यस्तै हुनुपर्ने भनेर बनाएको रहेछ? लामो समयसम्म अभ्यास भएको उस्तै शैलीमा लेखिँदै आएको रचना विशेषलाई सैद्धान्तिक रूप दिएर पछि शास्त्र तयार भएको पो हो की? अँ क्या! कविता पहिला जन्म्यो होला की यसका सिद्धान्त पहिला बने होलान्? (कुखुरा पहिला कि अण्डा जस्तो जटिल छैन यो प्रश्न।) सिद्धान्त त अभ्यासको आधारमा बन्दै जाने होलान् नि होइन र? शास्त्र त पछि बन्ने होला। फेरि तपाईंले कुन अकाट्य शास्त्र फेला पार्नुभयो, जसले युगलाई छैठौं शताब्दीमा अल्झ्याएर राखेको छ?
ऊबेलाको अभ्यासलाई लिएर गजलका सिद्धान्त बनेजस्तै योबेलाको अभ्यासमा सिद्धान्तमाथि पूनर्विचार गर्न नमिल्ने हो? खैर यी प्रश्न त कुरैकुरामा निस्किए। खास प्रश्न यो हो कि शास्त्रको कति प्रतिशत कुरा मान्यो भने त्यो शास्त्रसम्मत हुन्छ? एउटा बहर तत्व नपुग्दा गजललाई ‘खारेज’ भएको मानिन्छ भने हाम्रो जीवनमा अरू के-के खारेज भए होलान्? कति शास्त्र छन् होला जसको पूर्ण पालना गरिएको होस्? तपाईं कति प्रतिशत हिन्दू भनेर कसैले प्रश्न गर्यो भने?
त्यसो हो भने अरूले लेखेको रचनालाई नाम दिन किन आत्तिइराख्नुभएको छ तपाईं? जसले रचना लेखेको छ उसैलाई नाम राख्न दिनुस्। मेरो छोराको नाम म जे राखुँ, मेरो मर्जी।
तपाईं हिन्दू धर्म मान्नुहुन्छ भन्ने पक्का गर्न मलाई केही समय लाग्यो। फेसबुकमा धेरैबेरसम्म पोस्टहरू खोजें। तपाईंले दसैं र तिहार मानेका फोटा हेरिसकेपछि मलाई पक्का भयो तपाईं हिन्दू हो भन्ने। अस्ति कार्यक्रममा भेट्दा तपाईंलाई हिन्दू धर्म र यसका शास्त्रले निर्धारण गरेका थुप्रै मानक कुराबाट विहीन देखेको थिएँ। निधारमा तिलक थिएन। आहारको विषयमा तपाईंले दसैंताका फेसबुकमा बोलेका केही पोस्टहरू दोहोर्याएर पढें, जुन हिन्दूहरूको लागि शास्त्रले वर्जित गरेको छ। ‘पहिरनको विषयमा खास विशेष कुरा लेखेको जस्तो लागेन तर कालो नलगाउनु भनेको छ’ भनेर शास्त्र पढेका कृष्णप्रसाद अर्यालले भने।
त्यो दिनको तपाईंको पहिरान कालोको धेरै नजिक थियो। अब एउटा प्रश्न बन्छ- एउटा बहर तत्व नहुँदा त शास्त्र अनुरूप गजल बन्दैन भने के–के नमाने पनि हिन्दू बनिरहन पाइन्छ? (कृपया म हिन्दू होइन नभनिदिनुस् है, मलाई हृदयाघात हुन सक्छ।) पूरै शास्त्रसम्मत रित नपुगेको भए पनि हिन्दू संस्कृति तथा चाडपर्वहरू मानिएको आधारमा ‘हिन्दू’ मान्न सकिन्छ भन्ने मेरो धारणा छ। मेरो लागि तपाईं हिन्दू नै हो। म पनि हो र पूर्णत: शास्त्रको रित पुर्याउन नसक्ने अरू पनि हिन्दू नै हुन्। की नयाँ नाम दिने हो र?
टिप्पणी प्रस्तुत गर्दैगर्दा डा. कृष्णहरि बरालले भन्नुभएको थियो- कता हो लगभग बराबर पंक्तिका सेर लेख्दा पनि हुन्छ भनेर लेखिएको छ रे। यो चाहिँ शास्त्रियता भित्र पर्थ्यो कि पर्थेन कुन्नि!
अडान:
बहरवाला कार्यपत्रमाथि डा. सनतकुमार वस्तीले ‘बहर चाहिन्छ तर त्यो बहरको लय आफैंभित्र हुन्छ। जे स्रष्टाको भित्रबाट लय आउँछ त्यही नै हो बहर, त्यसैमा लेख्नुस्’ भन्ने आसय व्यक्त गर्नुभयो। यो कुरा कार्यपत्र लेखक घनेन्द्रजीलाई मन परेन। यसैलाई आधार बनाएर अग्रजहरुले अडान कायम गर्न नसकेको प्रति रोष प्रकट गर्नुभयो। परर… ताली पनि बज्यो। हो कि जस्तो तत्क्षण त मलाई पनि लाग्यो। अडान नै नभए सिद्धान्त के काम? तर फेरि अनेक कल्पना आउन थाले। सोचें बाँदरहरूले आफ्नो अडान कायम राखेर मान्छेमा रुपान्तरण हुन नचाहेको भए, ढुंगे युगका मान्छेले आफ्नो जीवनशैलीप्रति अडान कायम राखिरहेको भए, अनि मेरो अडान भन्दै यो पृथ्वी घुम्न छोडेर एक ठाउँमा अडियो भने? ओशोले भनेजस्तै एउटा बिउले ‘म बदलिन्नँ’ भन्ने अडान लियो भने? अंकुराउन मानेन भने? आफू त सड्छ नै। भोलि रूख बनेर कयौं नयाँ फलहरूमा आफूलाई फैलाउन सकिने अवसर पनि गुमाउँछ।
[uam_ad id=”9015″]
तपाईं चाहिँ कस्तो अडान कायम राख्न आफ्ना गुरुहरूलाई ‘निर्देश’ गर्दै हुनुहुन्छ? कल्पना गर्नुस् त! गुरूहरूले आदि ऋषिमुनिहरूको कालदेखि नै आफ्नो ज्ञान कसैलाई नबाँड्ने अडान राखेको भए? अडान न हो। जसले जे पनि राख्न सक्छ नि!
अँ साँच्चि! थोमस अल्भा एडिसनले विकास गरेको ‘डाइरेक्ट करेन्ट’ (DC) र योभन्दा राम्रो अर्को हुनै सक्दैन भन्ने उनको अडान कायम रहिरहेको भए र त्यो अडानलाई पत्याएर निकोलस टेस्लाले ‘अल्टरनेटिङ् करेन्ट’ (AC) को विकास नगरेको भए कल्पना गर्नुस् त दुनियाँ कुन युगमा अल्झिरेको हुन्थ्यो होला?
नांगै जन्मेर नांगै मर्नुपर्ने मान्छेले जिन्दगीभर कपडा लगाएर बाँच्न पाउँदैन भन्ने अडान राखिन्छ र? त्यसो भए एउटा विधाको सिद्धान्तमा अडान कहिलेसम्म अडिएला? बुझ्नु जरुरी छ कि हरेक अडानहरू परिवर्तन हुन्छन्, समयसँगै, समयको मागसँगै।
न्वारन:
कार्यपत्रहरू र तिनका टिप्पणीमाथि प्रश्न गर्न ‘फ्लोर’ खुला गरियो। प्रश्न सुन्न म पनि आतुर थिएँ। आवाज शर्माको हातमा माइक पुग्यो। ‘समथिङ विल गो इन्ट्रेस्टिङ।’ मन उत्साहित भइरहेको थियो। ‘तपाईं बच्चा चाहिँ आफैं जन्माउने अनि न्वारन गर्न छिमेकीलाई बोलाउने?,’ उहाँले प्रश्न गर्नुभयो। परर… ताली बज्यो। तपाईंको आसय थियो- ‘रचना तपाईंको आफ्नो प्रकृतिको अनि ‘गजल’ शीर्षक चाहिँ अरबी र फारसी भाषाको?’ आसय यो पनि थियो- ‘तपाईं आफ्नो स्टाइलको रचना लेखिरहनुभएको छ भने आफ्नै नयाँ नाम राख्नुस् न!’ (मैले बुझेको आसय गलत हो भने मलाई सच्याउनु होला।) तपाईंकै प्रश्नलाई आधार मानेर तपाईंलाई नै प्रश्न– त्यसो हो भने अरूले लेखेको रचनालाई नाम दिन किन आत्तिइराख्नुभएको छ तपाईं? जसले रचना लेखेको छ उसैलाई नाम राख्न दिनुस्। मेरो छोराको नाम म जे राखुँ, मेरो मर्जी।
धेरैजनामा गजलमा बहरको प्रयोगबारे खोजी त्यसपछि मात्र भएको देखिन्छ जब अरू थुप्रै स्रष्टाहरूले गजल लेखेर वाहवाही कमाए, अभियान चलाए, नेपाली गजललाई उत्कर्षमा पुर्याए तर आफ्ना गजलले स्थान पाउन सकेनन्। जब नेपाली गजल एउटा उत्कर्षमा पुग्न खोजिरहेको थियो, तपाईंहरू टुप्लुक्क आइपुग्नुभयो र लामो समयदेखि गजल लेखिरहेकाहरूलाई गाली गर्न थाल्नुभयो।
एउटा गरिबले आफ्नो छोराको नाम ‘राजा’ राख्न नपाउने? अशान्तिले ग्रस्त परिवारमा छोरीको नाम ‘शान्ति’ राखिन्छ भने कसैले आपत्ति जनाउनु पर्ने के जरूरी छ? बडे गुलाम अली खानको गायकीको ठूलो फ्यान थिए हामीले चिनेका पाकिस्तानी गायक गुलाम अलीका बुवा। त्यसैले उनले आफ्नो छोराको नाम पनि गुलाम अली नै राखिदिए। बडे गुलाम अली खानसँगै तालिम पनि गराए। बडे गुलाम अलीले ‘तेरो छोराको नाम किन मेरो जस्तो राखिस्’ भनेर निहुँ खोजेनन्। आफू जस्तै बनोस् भन्ने आसयले बरु तालिम दिए। यिनी उही नामले आफू परिचित भए।
यही विषयलाई पुष्टि गर्न तपाईंले दौरा र टि-सर्टको प्रसंग उठाउनु भएको थियो। यसले पनि मेरो ध्यान तान्यो। तपाईं विषयभन्दा बाहिरबाट प्रतिकहरू तानेर तर्क गर्नुहुन्छ भने अरू थप तर्कहरू जन्मन सक्छन् भन्ने कुरामा तयार रहनु पर्छ। मेरो तर्क तन्कियो। तपाईंले भनेको ठीक हो। हामीले दौरा छोडेर टि-सर्ट लगाइसक्यौं भने अझै पनि यसलाई दौरा नै भन्न मिल्दैन। बुबाले लगाउनुभएको दौरा थियो र हामीले लगाउन थालेको टि-सर्ट हो। तर यी दुइटै साधन हुन्, साध्य होइनन्। साधनको काम साध्यलाई पुष्टि गर्नु हो, सहयोग गर्नु हो। पहिरनले कि परिचय कायम राख्छ कि मौसमबाट सुरक्षा दिन्छ वा लाज ढाक्छ। सहि हो? दौरा, ढाकाटोपीले नेपाली हुनुको परिचय राख्थ्यो। मौसमबाट सुरक्षामा पनि काम लाग्थ्यो र यसैले लाजको पनि रक्षा गर्थ्यो। अहिले टि-सर्ट लगाउँदा यो कुरामा कमी आयो र? अँ! दौरा लगाउँदाको र टि-सर्ट लगाउँदाको आकर्षणमा देख्ने, हेर्नेहरूलाई भिन्नता महसुस हुन्छ। एउटा बहरमा गाउँदा एउटा मजा, अर्कोमा गाउँदा अर्कै मजा, बेबहरमा सुनाउँदा उस्तै मजा। मजा त आखिर मजा न हो।
तपाईंले ख्याल गर्नुभएको छ कि नाइँ! पहिले-पहिले लगाउने दौराको बाहुलामा टाँकको प्रयोग गरिन्थेन। अचेल ‘सर्ट’ जस्तो बनाउने चलन पनि आएको छ। तर यसको नाम अझै पनि दौरा नै छ। एउटा टाँकको प्रयोगले यसको नाम परिवर्तन भएको छैन।
यसलाई अझ धेरै लम्ब्याउन सकिन्छ। तर रोकिन्छु। यी कुराहरू जति गरे पनि सकिँदैनन्। बहरमा लेख्नेहरू एउटा उदाहरण दिनुहुन्छ। नलेख्नेहरू अर्को उदाहरण दिनुहुन्छ। तर्कमाथि तर्क। रायमाथि राय। सामाजिक सञ्जाल ततायो। एउटाले अर्कोलाई तल पार्न खोज्यो, आफू माथि पर्न खोज्यो। अडान जहाँको त्यहीँ। विचार जहाँको त्यहीँ।
यतिन्जेलको मेरा तर्कहरूबाट तपाईं मलाई गजलमा छन्द, बहर प्रयोगको विरोधी रहेछ भनेर बुझ्नुभयो भने माफ गर्नुस् है, यो गलत हो। गजल महोत्सवमा बहरमै लेख्नुपर्छ भन्नेहरूको आवाज अनावश्यक चर्को लागेकोले मात्रै यस्ता प्रश्न गरें। नत्र मसँग ‘बहरमा नलेखे पनि हुन्छ, हामी बहरमा लेख्दैनौं’ भन्नेहरुका लागि पनि प्रश्न थिए, छन्। तपाईंहरू माथि धेरै प्रश्न सोध्नुको कारण यो पनि हो कि तपाईंहरूले बहरमा लेख्न नचाहने पुस्तालाई यसप्रति आकर्षित गर्नुको साटो झन् वितृष्णा पैदा हुने शैली अपनाउनुभयो। सिकाउनु पर्थ्यो, धम्क्याउनुभयो। अनुरोध गर्नुपर्थ्यो, तर्साउनुभयो। जसरी विभिन्न अभियानमार्फत् धेरैले बहर सिक्नुभयो, यसमा लेख्ने प्रयास गर्नुभयो। त्यसरी नै यसको आकर्षणलाई फैलाउँदै मात्र गए पनि धेरै प्रगति गर्न सकिन्थ्यो। तर धेरैजना ‘उत्तेजना’मा आउनुभयो र लामो समयदेखि लेखिँदै आएको सृजनामाथि ‘आक्रमण’ गर्नुभयो। ‘गजल नै भएन’ भनिदिनुभयो। यो शैली ठीक थिएन।
एउटा तितो कुरा भनुँ? धेरैजनामा गजलमा बहरको प्रयोगबारे खोजी त्यसपछि मात्र भएको देखिन्छ जब अरू थुप्रै स्रष्टाहरूले गजल लेखेर वाहवाही कमाए, अभियान चलाए, नेपाली गजललाई उत्कर्षमा पुर्याए तर आफ्ना गजलले स्थान पाउन सकेनन्। जब नेपाली गजल एउटा उत्कर्षमा पुग्न खोजिरहेको थियो, तपाईंहरू टुप्लुक्क आइपुग्नुभयो र लामो समयदेखि गजल लेखिरहेकाहरूलाई गाली गर्न थाल्नुभयो। यो तरिका सहि थिएन। यस्तो देखिन्छ कि आफ्ना गजलहरूलाई कसैले वास्ता नगर्ने तर अरू कसैका महफिलहरूको आगोको राप चिसो सहरमा फैलिने कुराले कुण्ठा पैदा गरिरहेको छ। यस्तो नहोला र नहोस् पनि भन्छु। यद्यपि नेपाली गजल अझ एक खुड्किला माथि जाओस् भनेर चिन्ता गरिरहनुभएको छ, यसलाई म पूर्णतया सकारात्मक मान्छु, मेरो आपत्ति तपाईंहरूको चर्को आवाजमा हो, शैलीमा हो।
रोकिने भए काफिया सिक्ने बित्तिकै रोकिइन्थ्यो, रोकिइएन। सेर जानेर अघाइन्थ्यो, भोक जागीनै रह्यो। अन्दाज-ए-बयाँ सिक्न रहर कसरी जाग्यो? मिस्राहरू बीचमा ‘प्याराडक्सिकल’ सम्बन्ध बनाए सेर ‘चामत्कारिक’ बन्छ भन्ने पनि त जानियो नि जान्दाजान्दै, अभ्यास गर्दागर्दै।
नाम नलिइकन एउटा उदाहरण दिन्छु। पहिले घनश्याम परिश्रमीले गजल बहरमा नै लेख्नुपर्छ भन्ने कुरा सिकाउँदा विरोध गर्ने एकजना सर्जकले यसको विरोध गर्नुभयो र बेबहरमा गजल लेखेर ‘नाम कमाउन’ कोसिस गर्नुभयो। लामो समयसम्म उहाँ अस्तित्वमा अटाउन सक्नुभएन र पछि फर्केर परिश्रमी सरलाई नै गुरू मानेर गजल बहरमा नै लेखिनुपर्छ भनेर लाग्नुभयो। उहाँको कदमसँग जोडिएका अरू पनि विषय छन् तर राम्रो गजल लेखेर देखाउन नसकेको कारण उहाँको प्रयास वा छवि माथि उठ्न सकेको छैन।
अब प्रश्न अर्कोतिर
नेपाली भाषामा गजल लेख्न सकिन्छ, राम्रो गजल लेख्न सकिन्छ, उत्कृष्ट रचना दिन सकिन्छ भनेर प्रमाणित भइसकेको छ। यसको लागि लामो समयदेखि तपाईंहरू लागिरहनुभएको छ। सफल भइरहनुभएको छ। तर के यो उत्कृष्टताको टुङ्गो छ? के यो एउटा बिन्दूमा पुगेर रोकिन्छ? के त्यसपछि जान्नुपर्ने थप कुरा केही बाँकी रहन्न? सिकाइको एउटा तहमा पुगेर म योभन्दा माथि जान्नँ भन्न कसरी सुहाउँछ? के म अझ एक तह माथिको कुरा सिकुँ र अझ राम्रो गर्न सकुँ भन्ने चाहनाको सीमा हुन्छ? पढ्न जानें अब लेख्न सिक्दिनँ, उठ्न जानें अब हिँड्न सिक्दिनँ, हिँड्न सिकें अब दौडिन सिक्दिनँ, के यी कुरा ठीक हुन् र? चिरफार गर्न मात्र सिकेर एउटा सर्जनको अध्ययन सकिँदैन। उडाउन र उतार्न मात्र सिकेर पाइलट बनिँदैन। आकस्मिक अवस्थाको लागि तयार रहन सक्ने पनि हुनुपर्छ।
सिकाइको निरन्तर प्रकृया हुन्छ। यो कहीँ पनि रोकिन्न। सिक्दिनँ भन्दाभन्दै पनि सिकिन्छ। हिँड्दिन भन्दाभन्दै हिँडिन्छ। रोकिने भए काफिया सिक्ने बित्तिकै रोकिइन्थ्यो, रोकिइएन। सेर जानेर अघाइन्थ्यो, भोक जागीनै रह्यो। अन्दाज-ए-बयाँ सिक्न रहर कसरी जाग्यो? मिस्राहरू बीचमा ‘प्याराडक्सिकल’ सम्बन्ध बनाए सेर ‘चामत्कारिक’ बन्छ भन्ने पनि त जानियो नि जान्दाजान्दै, अभ्यास गर्दागर्दै। यत्रो वर्षदेखि यत्रा मान्छेहरूले जानिसकेको छन्द वा बहर कसरी हाउगुजी बन्न पुग्यो? थोरै बढी अभ्यास न हो। खुट्टा उचाल्ने चाहना मात्र न हो। ओशो भन्छन्- ‘सोच्यौ त गर्यौ, हिँड्यौ त पुग्यौ, चाह्यौ त पायौ।’
बुँदा नं. ३
अन्योलमा परेका स्रष्टाहरूको गाँठो फुकाइदेला भन्ने अपेक्षा गरिएको सभाले जारी गरेको घोषणा पत्रले झन् धेरै अन्योल सृजना गरेको धेरैको ठहर छ। मेरो पनि यहि ठहर थियो। आफैंले केही फरक-फरक निष्कर्ष पनि निकालें। फेरि घोषणा पत्र तयारी समितिका संयोजकले घोषणा पत्रको तेस्रो बुँदा पढेर सुनाउँदै गर्दा ‘यसलाई बुझ्नुस् है’ भनेर केही पटक दोहोर्याउनुभएको सम्झिएँ र धेरै बेर यसमा घोत्लिएँ। ‘आफूभित्र खोज, समाधान त्यहीँ छ,’ ओशोले भनेजस्तो मेरो समाधान निस्कियो। मलाई लाग्छ यो समाधान तपाईं र अन्य सबैलाई पनि काम लाग्न सक्छ। यो बुँदाको निष्कर्ष पक्का पनि यही नै हुनुपर्छ भन्ने मलाई लाग्छ।
यसलाई बुझ्नको लागि सबैभन्दा पहिले यो बुँदालाई टुक्रा पारें र दोस्रो भागलाई पहिले बुझें।
‘… नेपाली गजल लेखनको मौलिक पक्षलाई यो सभा सम्मान गर्दछ।’
अर्थात् अब उपरान्त बहर वा छन्दबाहेक आफ्नै मौलिक शैलीमा लेखिएका गजलहरूलाई पहिले जस्तो अपमान गर्ने, ‘गजल भएन, यो गजल नै होइन’ भन्ने, होच्याउने गर्न पाइनेछैन। (४ नं बुँदाका सर्तहरू लागू हुनेछन्।) मेरो त तर्क छ- जसले जस्तोसुकै लेखोस् होच्याउनु जरूरी किन छ? जसले जति जानेको छ उति नै लेख्छ। राम्रो लेखिएका सेरलाई पाठकले, सभाले यसैपनि अनुमोदन गर्छन्। ‘चमत्कार’ गर्न नसकेका सेर र सर्जक यत्तिकै पाखा लाग्दै जान्छन्। सबैले आफ्नो क्षमता अनुसार लेख्छन्। प्रगति गर्न चाहने र सक्नेले गर्छन्। यो सब स्वाभाविक हो। राम्रो नराम्रोको आधारमा कसैलाई उपहास गर्नु जरूरी छैन। आफूले सकेको गरौं, बस्।
बहर पक्षधर आदरणीय अग्रज, दाजु, मित्रहरू! यो बुँदा अनुसार घोषणा पत्रमा हस्ताक्षर गर्नेहरूले यो कुरा स्वीकार गरिसक्नुभएको छ कि केवल बहर वा छन्दको उपस्थिति छैन भन्दैमा तपाईं कसैको गजललाई गजल भएन भन्नु पाउनुहुन्न, त्यसको सम्मान गर्नुपर्नेछ।
‘गजलको सैद्धान्तिक पक्षलाई आत्मसाथ गर्दै गजल बहर वा छन्दमा लेखिनुपर्छ भन्ने कुरालाई मनन गरी …।’
अर्थात् बहरविहीन गजल सृजना गर्न पाइन्छ। कसैले गजल भएन भन्ने छैनन्। तर यत्तिकैमा तपाईं सन्तुष्ट हुन पाउनुहुन्न। तपाईंले यो मनन गरिरहनुपर्नेछ कि सबैकुरा उत्कृष्ट दिएर पनि एक पाइला तलै छु। चढ्नुपर्ने एउटा पाइला अझै बाँकी नै छ।
सिक्ने कुरा न हो। सिकिहालिन्छ। गजलको लागि यत्रो समर्पण छ, यत्रो प्रेम छ। यसबारे एउटा विषय नजानीकन मलाई पुग्यो भन्न पनि त भएन नि। तपाईंले प्रेम गरेको व्यक्तिको बारेमा एउटा कुरा मात्र पनि जान्न छुट्यो भने कस्तो लाग्छ? प्रेम त तपाईंलाई कुनै न कुनै समयमा, कुनै न कुनै रूपमा पक्का पनि भएको छ। यसको अनुभव त छ नि होइन र? त आउनुस् मिलेर गजलको यो अर्को विषय पनि जानौं। आफ्नो प्रेमको कुनै पनि कुरा जान्नबाट नचुकौं।
बुँदा नं. ४
‘गजलमा अन्तर्वस्तु र रूप पक्षमा सन्तुलन हुनुपर्छ भन्ने कुरालाई अङ्गिकार गर्दै विचार, तर्क र कल्पनाको प्रस्तुति चमत्कारपूर्ण हुनुपर्छ …।’
यो बुँदा अझ विशेष छ। तेस्रो बुँदाको कुरा पूरा हुनको लागि चौथो बुँदाको पालना अपरिहार्य छ। अर्थात् बहर मनन गरिसकेकाहरूले (घोक्नेहरूले) पनि यत्तिकैमा गजल बनाएँ भनेर नाक ठाडो गर्न पाउने छैनन्। यदि बहर मात्र छ र सेर चमत्कारपूर्ण (अन्दाज-ए-बयाँ युक्त) छैन भने त्यो गजल सबैभन्दा पहिला ‘खारेज’ हुनेछ। केवल बहरको अनुपस्थिति भएको सेर ‘चमत्कारपूर्ण’ छ भने त्यसले सम्मान पाउनेछ तर बहर मात्र मिलाउँदैमा चमत्कार गर्न नसकेका सेर स्वतः ‘खारेज’ हुनेछन्।
ठहर एक वाक्यमा:
मेरो ठहर यो पनि छ कि बहर घोक्नेहरूलाई गजल कसरी ‘चमत्कारपूर्ण’ हुन्छ भन्ने पत्तो पाउन धेरै समय लाग्नेछ तर तपाईं गजलको चमत्कार बुझिसकेकाहरूलाई बहर बुझ्न त्यति समय लाग्नेछैन। यो मेरो ‘ग्यारेन्टी’ हो।


























