काठमाण्डौं, माघ १३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरु कुटाकुटमा उत्रिएका छन्। सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा विद्यार्थी नेताहरुबीच झडप भएको हो।
पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि संस्थापन समूहसँग हात हालाहाल भएको थियो।
पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका कुन्दनराज काफ्ले समूहमाथि हातपात भएको हो। लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ।
नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ। तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव भएको हो।
सभापति शेरबहादुर देउवाले ५० वर्षीय राजीव ढुङ्गानालाई नेविसंघको नेतृत्व दिन लागेको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन्।
असन्तुष्ट विद्यार्थी नेताहरुले महासचिव काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ विरोध प्रदर्शन गरिरहेका बेला काफ्लेमाथि संस्थापन पक्षले आक्रमण गरेको हो।
कांग्रेस केन्द्रीय समितिको बैठक आजै बस्ने र नेवि संघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु विरोध प्रदर्शन र समर्थनका लागि सानेपामा भेला भएका छन्।


























