मोरङ, १३ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको मूल मन्त्र विकास र समृद्धि भएको बताएका छन्। मोरङ व्यापार संघको ६४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले भने, ‘हामी लामो समय राजनैतिक आन्दोलनमा व्यस्त भयौँ। त्यसैले अब हामीले विकास र समृद्धिलाई सफल बनाउन अभियानको रुपमा लैजानुपर्छ।’ निजी क्षेत्रको पूँजी र व्यवसायलाई पूर्ण रुपमा सरकारले सुरक्षा दिनुपर्ने उनले बताए।
सरकारले ऐन बनाउँदा निजी क्षेत्रलाई आकर्षित गर्ने ढङ्गले बनाउनुपर्ने उनको भनाइ छ। ‘निजी र सरकारी क्षेत्रको सहकार्यलाई माथि उठाउने बेला आएको छ,’ उनले भने। उत्पादन वृद्धि र रोजगार सृजना गर्ने निजी क्षेत्रको समस्यालाई सरकारले समाधान गर्नुपर्नेमा अध्यक्ष दाहालले जोड दिए। खरिद ऐन संशोधन भई लगानीमैत्री हुने किसिमको आउने बताए। कृषि क्षेत्रको आधुनिकीकरण, व्यासायीकीकरण र पर्यटन क्षेत्रको विकास गरी देशलाई तीव्र गतिमा विकास गर्न सकिने बताए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगी व्यापारीले मुलुकमा आयात गर्ने विलासिताको वस्तुमा नियन्त्रण गर्नुपर्ने बताए। मन्त्री यादवले मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेका उद्योग र उद्योगी धेरै मुनाफाखोरी बन्न नहुने तर्क गरे। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले उद्योग र उद्योगीको समस्यालाई एकीकृत ढङ्गले समाधान गर्नुपर्ने बताए। -रासस