चितवन, १२ जेठ। जिल्ला प्रहरी कार्यालय चितवनले अवैधरुपमा हातहतियार बोकेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका वडा नं.२९ जुगेडी बस्ने वर्ष ३९ का सुकबहादुर चेपाङलाई गत शुक्रबार दिउँसो जंगलमा घाँस काट्न जाँदा पछाडिबाट गोली लागेर घाइते भएको भन्ने सुचनाको आधारमा घटनाबारे अनुसन्धान थालेको प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा सोही स्थान बस्ने वर्ष ३५ का सोमबहादुर गुरूङ र वर्ष ३४ का सूर्यबहादुर चेपाङलाई पक्राउ गरेको हो।
उक्त घटनामा गोली लागेर घाइते भएका चेपाङ आफैँले बोकेको भरूवा बन्दुक पड्किँदा आफ्नै खुट्टामा लागेको पाइएको छ। ‘अनुसन्धानको क्रममा घाँस काट्न नभई शिकार खेल्न गएका तीनजना मध्ये सुकबहादुर चिप्लिएर लड्दा आफैँले बोकेको बन्दुक पड्केर आफैँलाई लागेको देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले भने। उनको चितवनमा उपचार सम्भव नहुने भएपछि थप उपचारको लागि शिक्षण अस्पताल काठमाडौँ पठाइएको छ।

पक्राउ परेकाहरुबाट तीनथान भरूवा बन्दुकसमेत बरामद गरेको छ। अनुसन्धानका क्रममा इन्द्रेणी सामुदायिक वनको डल्ले आहाले भन्ने स्थानमा झाडीमा माटोमुनि लुकाइराखेको अवस्थामा फेला परेको प्रवक्ता रेग्मीले जानकारी दिए। पक्राउ परेका दुईजनालाई हातहतियार तथा खरखजना मुद्धा दार्त गरि चितवन जिल्ला अदालतबाट म्याद थप गरि कानुनी प्रकृयाअनुसार कारवाही अगाडि बढाइएको उनले बताए। तीनैजनामाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२९ को उपदफा २ अनुसार कसूर गर्ने व्यक्तिलाई दसवर्ष कैद र एकलाख रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।