चितवन । हिसान चितवनले अरोमा कलेज प्रकरणमा आरोपित शिक्षकलाई यौन दुर्व्यवहारको मुद्दाको अन्तिम निरुपण नहुँदासम्म हिसानअन्तर्गतका कुनै पनि शिक्षण संस्थामा अध्यापन गर्न नदिने निर्णय गरेको छ। अरोमा कलेजमा कम्प्युटर प्रशिक्षकका रुपमा कार्यरत रामकृष्ण सुवेदी विरुद्ध छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ।
आरोपित शिक्षकलाई कारबाहीको माग गर्दै मंगलबार कलेजमा विद्यार्थीहरु आन्दोलन गरेका थिए। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) चितवनका सचिव प्रदिप पौडेलद्वारा जारी विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। शिक्षण संस्थाहरुलाई मानव मर्यादा विपरीतका कुनैपनि कार्य र हिंसाजन्य गतिविधिमुक्त बनाउन लाग्ने जनाइएको छ।
हिंसा प्रभावितलाई न्यायिक प्रक्रियामा कुनैपनि व्यवधान नगर्न अपील गरिएको छ। यौन हिंसा भएको भनी उजुरी गर्ने पीडितलाई हिसानले भयमुक्त वातावरणमा अध्ययन-अध्यापन गराउन आग्रह गरेको छ। आरोपित शिक्षकलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म सेवाबाट निलम्बन गर्न सुझाएको छ।
यस्तै कलेजमा तोडफोड नगर्न आग्रह गरेको छ। कलेजको हाताभित्र राखिएका स्कुल बस, प्रशासन भवनमा गरिएको तोडफोड तथा भौतिक क्षतिप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। न्याय निरुपणका अन्य उचित विकल्प र मार्ग छँदाछँदै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरिनु हितकर नहुने भन्दै घटनाको अनुसन्धानमा सहजीकरण आग्रह गरेको छ।
शिक्षकमाथि यौन दुर्व्यवहार लगाएका विद्यार्थीले कारवाहीको माग गर्दै विद्यालयको भौतिक संरचना तोडफोड गर्नुका साथै सडकमा टायर बालेर आन्दोलनसमेत गरेका थिए। विद्यार्थीको आन्दोलन साम्य पार्न चितवन प्रहरीले आरोपित शिक्षकलाई तत्काल नियन्त्रणमा लिएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।


























