धादिङ, १२ जेठ। सरकारले पर्यटकीय गन्तव्यस्थल ‘चेपाङ–महाभारत पदमार्ग’को सम्भाव्यता अध्ययन सुरु गरेको छ। धादिङ, मकवापुर र चितवन गरि तीन जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा जोड्नका लागि सो पदमार्ग उपयुक्त देखिएको छ।
अन्वेशषात्मक तथा प्रवद्र्धनात्मक भ्रमणले ती तीन जिल्लामा पर्ने पदमार्गले पर्यटकीय क्षेत्रको विकास गर्न सकिने निष्कर्ष निकालिएको छ। एउटै पदमार्गबाट बाह्य तथा आन्तरिक पर्यटकले तीन जिल्लाको सांस्कृतिक, धार्मिक र प्राकृतिक वातावरणको समेत अवलोकन गर्न सक्नेछन्।
सरकारको नीति तथा कार्यक्रममा उक्त पदमार्गको उल्लेख गरिएपछि नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)ले सम्भाव्यता अध्ययन सुरु गरेको हो।
चन्द्रागिरिको दर्शन गरेपछि पर्यटकलार्ई चितवनको शक्तिखोरसम्म पदमार्गमा लैजान सकिने छ। अध्ययनका क्रममा टोलीले धादिङको धुनीबेँसी नगरपालिका वडा नं ७ को तोपलाङ, मजुवा, लिखु, धुनीबेँसी, गुर्दुम, मकवानपुरको थाहानगरपालिका वडा नं १० को सलामपुर हुँदै धादिङको थाक्रे गाउँपालिका वडा नंं ५ को पोखरीचौर, दामीचौर, वडा नं ६ को रानीझरना, वडा नं ३ को भूमिचुली र झण्डाचुलीको अध्ययन गरेको थियो।
यस्तै धादिङ र मकवानपुरको सीमाक्षेत्रमा पर्ने झण्डाचुलीबाट १४ जिल्ला र १२ हिमाल हेर्न सकिन्छ। झण्डाचुलीबाट गणेश हिमाल, अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, मनास्लु, जुगल, गौरीशङ्करलगायतका १२ हिमालका दृश्य हेर्न सकिने गल्छी गाउँपालिका वडा नं ६ कोइलीखर्कका स्थानीय गोपाल तामाङले जानकारी दिए।
यस्तै धादिङको गल्छी गाउँपालिकाको वडा नं ५ कोइलीखर्क, गजुरी नगरपालिकाको सुन्दरनागी, बेनीघाट रोराङ गाउापालिकाको वडा नं ८ स्थित नोहक गुफाको अवलोकन गर्दै चितवनको राप्ती नगरपालिको कान्द्राङगढी र इच्छाकामना गाउँपालिकाकाको चेपाङ बस्तीको अवलोकन गरेको टोलीका रामेश्वर कार्कीले जानकारी दिए।
काठमाडौँको चन्द्रागिरिदेखि चितवनको शक्तिखोरसम्म पर्यटकलाई पदयात्रा गराउँदा यहाँका संस्कृति, कला, सांस्कृतिक सम्पदा र जडीबुटीबारे जानकारी दिन सक्ने उनको भनाइ छ। यस्तै थाक्रे गापा–६ स्थित रानीबारीमा रहेको रानीझरनामा क्यानोनिङका लागि उपयुक्त देखिएको उनले बताए।
उक्त पदमार्गमा पर्ने मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित कैलाश बैकुण्ठ शक्तिपीठलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावदा देखिएको छ। पदमार्गका क्रममा पर्यटकले आफूलाई इच्छाअनुसारको त्रिशूली नदीमा र्याफटिङ, मनकामना दर्शन, चितवनको सौराहा, पोखरासम्म जान सक्नेछन्।
टानका सदस्य पूर्णकुमार शेर्पाले पदमार्गमा पाइएका अध्ययनले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले उक्त पदमार्गमा पर्ने ठाउँ पर्यटकीय क्षेत्रका लागि महत्वपूर्ण भएको बताए। उक्त पदमार्गमा सांस्कृतिक पर्यटनस्थल रहेकाले नेपाल भ्रमण वर्षमा पर्यटन भित्र्याउन सकिने बताए।
टानका अनुसन्धानकर्ता सेर्फु शेर्पाले अध्ययन क्रममा उक्त पदमार्गमा पर्यटकलाई आकर्षण गर्ने पर्यटकीय क्षेत्र रहेको बताए। पदमार्गमा पर्ने तामाङ र चेपाङ समुदायमा होमस्टे (घरबास) सञ्चालन गरेर पर्यटकलाई आकर्षण गर्न सकिने उनको भनाइ छ। यसका लागि पहिले भौतिक पूर्वाधार र समुदायमा जनचेतना जगाउन आवश्यक रहेको उनले बताए। -रासस