तनहुँ । अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ। नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता शाहले तनहुँबाट सफाइ पाए पनि नवलपुर जिल्ला अदालतले दुई वर्ष ६ महिना कैद सजाय सुनाएको हुँदा तनहुँ कारागारमै रहने तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए।
तनहुँ जिल्ला अदालतले भने न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मंगलबार भएको बहसपछि शाहलाई अदालतले सफाइ दिएको अदालतका श्रेस्तेदार कुँवरले बताए। उनका अनुसार शाहविरुद्धको सुनुवाइमा अभियोग दाबी नपुगेकोले अदालतले सफाइको फैसला सुनाएको हो। फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट रहेको उनले बताए।
शाहविरुद्धको मुद्दाको अन्तिम सुनुवाइमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए। एकै प्रकृतिको मुद्दा नवलपुरमा पनि दर्ता भएको थियो। नवलपुर जिल्ला अदालतको गत भदौ २१ गतेको फैसलाअनुसार शाहविरुद्ध २ वर्ष ६ महिना कैद तोकिएको थियो।
नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरी कार्यलयमा उजुरी परेको थियो। फागुन १५ गते प्रहरी कार्यालयमा आफैं सम्पर्कमा पुगेका शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।


























