काठमाडौँ, २५ बैशाख। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले वर्तमान सरकारले संघीयता नचाहेको आरोप लगाएका छन्। बुधबार राष्ट्रिय जागरण अभियानअन्तर्गत कैलालीको लम्कीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सभाको उद्घाटन गर्दै उपसभापति निधीले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेत संघीयताका बारेमा सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका हुन्।
केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले बिग्रँदै गएको राजनीतिक अवस्थालाई सही मार्गमा ल्याउन नेपाली कांग्रेसको आवश्यकता महसुस भइसकेको दावी गरेका छन्। बुधबार मोरङस्थित नेपाल दलित संघको पाँचौँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै नेता सिटौलाले भने, ‘वर्तमान अवस्थामा दलितको नीति निर्माण तथा अन्य क्षेत्रमा कांग्रेसले प्रतिनिधित्व गर्दै आएको छ। आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले नेपाली कांग्रेसले मात्र दलितको हकअधिकार स्थापित गर्न सक्ने धारणा व्यक्त गरे।
कार्यक्रममा कांग्रेस प्रशिक्षण विभागका सदस्य तथा महिला नेत्री आरजु राणा देउवाले जनताका बीचमा जानका लागि पनि अभियान आवश्यक रहेको बताइन्। कांग्रेसका केन्द्रीय सदस्य तथा अभियान कैलालीका लागि केन्द्रीय प्रतिनिधि श्याम घिमिरेले राष्ट्रिय जागरण अभियानलाई सफल पार्नको लागि सबैको साथ आवश्यक रहेको बताए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको चाहनाअनुसार वैकल्पिक शक्तिको रूपमा उभ्याउने हैसियतमा लैजानुपर्ने बताएका छन्। राष्ट्रिय जागरण अभियानअन्तर्गत जनकपुरधाममा आयोजित सभामा बोल्दै नेता पौडेलले भने, ‘सरकारका काम जनअपेक्षाअनुरुप हुन सकेन। त्यसैले नेपाली कांग्रेसले सशक्त विरोध गर्न सक्नुपर्छ।
केन्द्रीय सदस्य चन्द्र भण्डारीले विगतका कमजोरी आत्मसात् गरी पार्टीलाई सशक्त रुपमा अघि बढाउनुपर्ने बताएका छन्। कांग्रेस कपिलवस्तुले राष्ट्रिय जागरण अभियानका क्रममा बुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा आयोजना गरेको कार्यक्रममा नेता भण्डारीले पार्टीभित्र सबैलाई समान अवसर दिनुपर्ने बताएका हुन्। ‘सरकारको एक वर्षको यस कार्यकालमा आश्वासन दिने काम मात्र भएको छ, जुन अझै पनि चलिरहेको छ,’ उनले भने, ‘तर, उल्लेख्य उपलब्धि भने केही पनि हासिल गर्न सकेन, जसले गर्दा सरकारप्रति जनता निरा बनेका छन्।’ प्रदेशको राजधानीबारे बोल्दै नेता भण्डारीले जनतालाई अनुकूल पर्ने ठाउँमा राख्नुपर्ने बताए।
केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसले सुरु गरेको देशव्यापी जनजागरण अभियान सत्ता प्राप्तिका लागि नभई जागरणका लागि भएको बताएका छन्। पहिलो चरणको अभियानअन्तर्गत भक्तपुरको दूधपाटीमा आयोजित कार्यक्रममा नेता रिजालले भने, ‘कांग्र्रेस पाँचवर्ष प्रतिपक्षमै बस्छ। जनताले सत्तामा पठाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताको चाहनाअनुरुप काम गर्नुपर्छ।’ जनताको पक्षमा काम गर्न दबाब दिन पनि अभियान सञ्चालन गरिएको उनको भनाइ छ। कांग्रेस आफैँभित्रको कलहबाट बाहिर निस्केर बदलिनुपर्ने उनले बताए।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टीलाई बलियो बनाउने सङ्कल्प गर्न आवश्यक रहेको बताएका छन्। तनहुँको दमौलीमा जागरण अभियानको उद्घाटन गर्दै नेता जोशीले पाटीभित्र भएका असहमति र वैमनस्यतालाई अन्त्य गरी कांग्रेसलाई बलियो बनाउन दृढ सङ्कल्प गर्न आवश्यक रहेको बताएका हुन्। कांग्रेस–कांग्रेसबीचको द्वन्द्वले पार्टी कमजोर हुँदै गएकाले भोलि देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले कांग्रेसभित्र सुमधुर सम्बन्ध बनाउन र आफैँभित्र जागरण ल्याउन राष्ट्रिय जागरण अभियानले सहयोग पुग्ने बताए। राष्ट्रिय जागरण अभियानमार्फत जिल्लामा क्षेत्रीय र स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिने कांग्रेस तनहुँका सचिव विश्व बाँस्तोलाले बताए। उनका अनुसार अभियानअन्तर्गत गाउँ–गाउँमा पुगेर सदस्यता वितरण, अभिलेख सङ्कलन, अग्रजलाई सम्मानलगायत कार्यक्रम सञ्चालन गरिनेछ।