एक महिनादेखि पठनपाठन ठप्प
चितवन, २५ वैशाख। प्राध्यापकहरू नै आन्दोलनमा उत्रिएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयको पठनपाठन एक महिनादेखि पूर्ण प्रभावित बनेको छ। गत चैत २१ गते कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विश्वविद्यालयकै केही विद्यार्थीले कालोमोसो दलेर अभद्र व्यवहार गरेको विषयलाई लिएर प्राध्यापकहरूले नै आन्दोलन चर्काएपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको हो।
सहायक डीन ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक संघले आन्दोलन जारी राखेपछि पठनपाठनसँगै अन्य कामकाज समेत रोकिएको विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले बताए। प्राध्यापकहरुले मुख्य कार्यालयमै तालाबन्दी गरेका छन्।
विश्वविद्यालयले भने सहायक डीनमाथि अभद्र व्यवहार गरेको भन्दै छ जना विद्यार्थीलाई दुई महिनाका लागि निष्काशन गरिसकेको छ। त्यसलगत्तै अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरे पनि दुईदिन अघि नै ताला खोलिसकेको छ। तर, प्राध्यापक संघले भने कारवाही कमजोर भएको भन्दै आन्दोलन जारी राखेपछि विवदा सुल्झिन नसकेको उनले बताए।
राजनीतिक दल र प्राध्यापक संघसँग नियमित छलफल भए पनि निष्कर्ष ननिस्कँदा समस्या समाधान नभएको विश्वविद्यालयका रजिष्टङार कोलाक्षपतिले जानकारी दिए। विश्वविद्यालयमा विगत एक वर्षदेखि विभिन्न आन्दोलनका कारण पठनपाठन र सबै खालका कामकाज प्रभावित हुँदै आएको छ ।
यही क्रममा कालोमोसो प्रकरण थपिएपछि विश्वविद्यालयको अवस्था झनै अस्तव्यस्त बनेको हो । यस्तैयस्तै समस्याले गर्दा विश्वविद्यालयमा गएको वर्षभरिमा जम्मा छ महिना पनि पढाई भएको छैन।