बाजुरा, २६ वैशाख। नेपाली चलचित्रका महानायक राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गरेका छन्। बाल स्याहार गृहको उद्घाटनका लागि बाजुराको ब्रह्मतोला आएका हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताएका हुन्। हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहार गृहप्रति लक्षित गर्दै केपी खनाल नै सबैको प्रेरणाको स्रोत हुनुपर्ने बताए।
बहुसङ्ख्यक युवामा प्रतिभा भए पनि अवसर नपाएर शक्ति खेर गएको उनको भनाइ थियो।पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनाथको अभिभावक हुने सौभाग्य प्राप्त गर्ने परोपकारी व्यक्तित्व समाजका ‘आइडल’ भएको बताए।
गृह निर्माणकर्ता एवं कान्छो अभियानकर्मी खनालले साझा हित र परोपकारी कार्य राजनीतिक आस्था र स्वार्थभन्दा माथि राखेर गर्न आग्रह गरे। क्लिन काष्ठमाण्डप अभियानका खनालले बाजुराजस्तो दुर्गम क्षेत्रमा आएर अनाथका लागि आश्रम बनाउन पाउँदा निकै खुशी लागेको बताए। खनालले ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं समाज सेवी लोकबहादुर टण्डन र कलाकार राजेश हमालको साथकै कारण अनाथ आश्रम बनाउन सफल भएको बताए।
बाल स्याहारगृह अघिल्लो वर्षको वैशाख २५ गते शिलान्यास गरिएको थियो भने उद्घाटन पनि सोही दिन गरिएको हो । भवन रु ५० लाख बढी लागतमा निर्माण गरिएको हो । -रासस