चितवन, २४ बैशाख। नेपाली काँग्रेस चितवनले एकमहिने जागरण अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन सबै तहका कार्यकर्ताहरूलाई निर्देशित गरेको छ। ‘जागरण अभियान र ग्रामीण क्षेत्रमा पार्टीको कार्यक्रमलाई प्रभावकारी बनाउन सबै तहमा निर्देशन जारी गरेका छौँ,’ काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने, ‘जागरण कार्यक्रम अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा बर्तमान सरकारले गरेका गलत कार्यको भण्डाफोर गर्ने, पार्टीको विधान र महासमितिले गरेको निर्णयबारे कार्यकर्तालाई जानकारी गराउने, अन्तरक्रिया गर्ने, सहिद परिवार तथा पार्टीका अग्रज नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।’
भातृ एवम् शुभेच्छुकहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको उनले बताए। पार्टी सचिव उत्तम जोशीका अनुसार कार्यक्रमको लागि केन्द्रीय प्रतिनिधि सुरेन्द्रप्रसाद चौधरी चितवन आइसकेका छन्। हिमाल, पहाड, तराई, मधेश जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम काँग्रेसले देशैभर गर्न लागेको हो । केन्द्रीय प्रतिनिधिलाई एकमहिना जिल्लामा राखेर कार्यकर्ताहरुको भावनाको बारेमा जानकारी गराइने छ । काँग्रेसले बैशाख ११ गते गर्न लागेको जागरण अभियान अग्रज नेता तथा पूर्वमन्त्रीको निधनका कारण बैशाख २५ गतेको सारेको हो।