चितवन । स्वर्गीय दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल माघ २८ गतेदेखि चितवनमा हुने भएको छ। चितवन भेट्रान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका खेलहरु भरतपुर १० स्थित गेष्टहाउस चौरमा फागुन ४ गते गतेसम्म चल्नेछ।
प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी हुनेछन्, जसमा चितवन रातो र निलो गरी दुई, नेपालका अन्य १२, भारतको देहरादुन र कोलकाता सहभागी हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिने क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उप-विजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए। प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन्। हरेक खेलको म्यान अफ दी म्याचले एक हजार ५०० प्राप्त गर्नेछन्।
प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता तयारी सुरु भएको क्लबका सचिव भरत सुवेदीले जानकारी दिए। स्व दिलीप राणाका छोरा अभिनय राणाले प्रतियोगिता सफलताको कामना गरे। स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन्।



























