चितवन । तरङ्ग-२ नामक आधुनिक एल्बमको प्रकाशनपछि नेपाली सांगीतिक क्षेत्रबाट केही पर देखिएको सर्जक लिलु गुरुङ पुनः नयाँ लोक तथा दोहोरी गीतको माध्यमबाट दर्शक स्रोतामाझ फर्किँदै छिन्। बहुचर्चित गायक राजु परियार र शान्तिश्री परियारको आवाजमा नयाँ गीत ‘नौलो चिनजानी’ प्रकाशनमा ल्याउने तयारी गरेकी हुन्। करिब ६० को दशकमा ‘हाँसेर बोल न’ गीती एल्बमबाट नेपाली लोक दोहोरी क्षेत्रमा औपचारिकरुपमा प्रवेश गरेकी गुरुङले त्यसयता ‘चौतारीको वर’, ‘के हुन्छ कुन्नि’, ‘शंका बढ्यो झन्’, ‘नाता तोडेनी’, ‘हुँदो रै’छ पिरतीमा दम’ लगायतका चर्चित गीत प्रकाशन गरिन्।
‘चौतारीको वर’ नामक एल्बमबाट चर्चा कमाएकी सर्जक गुरुङले ‘के हुन्छ कुन्नि’ एल्बमबाट थप चर्चा बटुलिन्। त्यसपछि आधुनिक गीततर्फ मोडिएकी गीतकार गुरुङले ‘तरङ्ग’ नामक आधुनिक एल्बमसमेत प्रकाशनमा ल्याइन्। उक्त एल्बममा समावेश ‘जहाँ तिमी त्यहाँ म हुन नपाउँदा’ बोलको गीतले आधुनिक क्षेत्रमा पनि परिचय स्थापित गरायो। उक्त गीतलाई पुरुष आवाजमा स्वरुपराज आचार्य र महिला आवाजमा अञ्जु पन्तले रेकर्ड गराएकी थिइन्। त्यसपछि ‘तरङ्ग-२’ नामक एल्बम निकालिन्।
उनले दुवै एल्बममा सत्य-स्वरुपराज आचार्य, अञ्जु पन्त, हेमन्त शर्मा, कुमार सानुलगायतका चर्चित गायक/गायिकालाई समेटेकी थिइन्। अहिले करिब दशक लामो समयपछि उनले नयाँ सिर्जनामार्फत लोक दोहोरीका स्रोता दर्शकलाई आफ्नो फरक स्वाद चखाउने योजना अघि सारेकी हुन्। जुजु गुरुङको संगीत संयोजनमा तयार भएको गीतको भिडियो केही दिनमा लिलु गुरुङ अफिसियल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने तयारीमा छिन्। गोरखाको अजिरकोट-४ सिम्जुङमा जन्मिई हाल अमेरिका बस्दै आएकी गीतकार गुरुङले यो बीचमा गुरुङ तथा मगर समुदायमा प्रचलित कौडा गीतसमेत बजारमा ल्याएकी थिइन्।


























