असोज ८ । अफगानिस्तानको उरुज्गान प्रान्तमा तालिबानका लडाकुद्वारा २८ प्रहरी मारिएका छन्। उरुज्गानका गभर्नरका प्रवक्ता जेरगाइ एबादीले जानकारी अनुसार मंगलबार राति चेकप्वाइन्टमा आक्रमण गरी तालिबानका लडाकुहरुले २८ स्थानीय र राष्ट्रिय प्रहरीलाई आत्मसमर्पण गरे घर जान दिने प्रस्ताव गरेका थिए। तर, उनीहरुबाट हतियार खोसेपछि उनीहरुले सबैको हत्या गरेका थिए।
तालिबानका प्रवक्ता कारी मोहम्मद युसुफ अहमदीले यो आक्रमणको जिम्मेवारी लिँदै उनीहरुले आत्मसमर्पणको लागि अस्वीकार गरेपछि गरिएको आक्रमणमा उनीहरु मारिएको दाबी गरेका छन्।
अर्का एक स्थानीय अधिकारीले नाम नबताउने शर्तमा तीन प्रहरीले भने त्यहाँबाट भागेर आफ्नो ज्यान बचाउन सफल भएको जानकारी दिएका छन्। यद्यपि अफगानी सुरक्षाकर्मीले उक्त चेकपोस्टलाई पुनः आफ्नो नियन्त्रणमा लिएको एबादीले जानकारी दिएका छन्।
यसअघि आइतबार राति पनि तालिबानी लडाकुले गरेको आक्रमणमा १४ अफगानी सुरक्षाकर्मीको मृत्यु भएको थियो। अफगानिस्तानको सरकार र तालिबानको बीचमा कतारको राजधानी दोहामा वार्ता जारी रहेको अवस्थामा तालिबानले यस्तो आक्रमण गरेको हो। मुलुकमा जारी २० वर्षे युद्धविरामको लागि दुई पक्षको बीचमा एक साताभन्दा लामो समयदेखि वार्ता चलिरहेको छ। अलजाजिरा


























