चितवन । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितेपछि चर्चामा रहेको चितवन–३ मा यतिबेला नेकपा माओवादीकै तर्फबाट डा भोजराज अधिकारी उम्मेदवार बनेका छन्। उही व्यक्तिसँग चुनाव लडेर जितेका प्रचण्ड यसपटक पराजित हुने डरले गोरखा हान्निएपछि उही नेतासँगको चुनावी प्रतिष्पर्धामा प्रचण्डले भरतपुर अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष एवम् वरिष्ठ फिजिसियन डा अधिकारीलाई उम्मेदवार बनाए।
पार्टीको केन्द्रीय नेतृत्वले आफैँ लड्ने आँट गर्न नसकेपछि स्वास्थ्य क्षेत्रमा निकै परिचित व्यक्ति डा अधिकारीलाई उम्मेदवार बनाएपछि माओवादीभित्रै पनि अन्तरकलह शुरू भएको छ। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका डा अधिकारीलाई आफ्नै पार्टीबाट समर्थन छैन। पार्टीमा लामो समयदेखि जनसांस्कृतिक महासंघमा आवद्ध भई कलाकारिता क्षेत्रमा सक्रिय गायक एवम् संगीतकार हरि योञ्जनले डा अधिकारीकै उम्मेदवारीविरूद्ध हार्मोनियम चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका छन्।
पाँच दलको संयुक्त उम्मेदवार भने पनि नेपाली कांग्रेस तीन धारमा विभाजित हुँदा त्यसको असर पनि डा अधिकारीलाई नै हुने देखिन्छ। कांग्रेसबाट गत स्थानीय तह निर्वाचनमै विद्रोह गरेर भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर सम्मानजनक मत ल्याएका जगन्नाथ पौडेल र कांग्रेसका वर्तमान केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएपछि दुवैजना चुनावी मैदानमा दौडिएका छन्।
नेता पौडेल एक्लाएक्लै चुनावी प्रचारप्रसारमा रहे पनि केन्द्रीय सदस्य कोइरालालाई भने नेकपा एमालेले बोकेर चुनावी प्रचारप्रसारमा दौडिएको छ। माओवादीभित्र पनि कार्यकर्ता तहमा सकारात्मक प्रभाव पार्न नसक्नु र गठबन्धनकै प्रमुख दल नेपाली कांग्रेस पनि तीन भागमा विभाजित भएर चुनावमा होमिनुले स्वास्थ्य क्षेत्रमा ठूलै सफलता हासिल गरेका डा अधिकारीलाई यसपटकको निर्वाचन फलामको चिउरा चपाएसरह हुने देखिन्छ। हुन त डा अधिकारी पहिलोपटक चुनावी मैदानमा सहभागी भएका व्यक्ति हुन्। उनको छवि नेतामा भन्दा पनि चिकित्सकको रूपमा बलियो थियो।
हुन त गठबन्धन दलहरूले डा अधिकारीकै जीत सुनिश्चित भनिरहेका छन्। तर, राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डे मुख्य प्रतिष्पर्धी हुनु र गठबन्धन दलमा गुट–उपगुटको अवस्था बाहिरै देखिनुले डा अधिकारीलाई जीत हासिल गर्न निकै चुनौती देखिन्छ। त्यसो त तीनै जना प्रतिष्पर्धीलाई यसैले जीत निकाल्न सक्छन् भन्ने अड्कल बाजी गर्न सकिने अवस्था छैन। डा अधिकारीलाई गठबन्धनको साथ भएर पनि जित्न चुनौती भइरहँदा दिनेश कोइराला र विक्रम पाण्डेलाई पनि उत्तिकै चुनौती छ।
त्यतिमात्र होइन, यो निर्वाचन क्षेत्रमा अन्य साना दल र स्वतन्त्र गरी २० जना चुनावी मैदानमा छन्। अधिकांश उम्मेदवारले कांग्रेस, एमाले र माओवादीकै मत काट्ने देखिन्छ। नेकपा एमालेको आफ्नै उम्मेदवार नभए पनि कांग्रेस र माओवादीबाट बागी उम्मेदवार हुँदा त्यसको असर गठबन्धन दलका साझा उम्मेदवारमा पर्ने सम्भावना पनि बलियो देखिन्छ।
माछा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता कोइरालालाई नेकपा एमालेले समर्थन गर्नु, गठबन्धन दलभित्रै विभिन्न खालका असन्तुष्टि पैदा हुनुले डा अधिकारीको जीत कत्तिको सुनिश्चित होला भन्ने चासो पनि छ। त्यतिमात्र नभई राप्रपाका तर्फबाट एकल उम्मेदवार बनेका नेता विक्रम पाण्डेलाई पनि बलियो उम्मेदवारको रूपमा हेरिएको छ। त्यसैले यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिष्पर्धीको रूपमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका डा भोजराज अधिकारी, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइराला र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेबीच नै हुने अनुमान गरिएको छ।


























