चितवन । आठौं खिचरा महोत्सवमा दर्शकहरूको उपस्थिति झन्झन् थपिँदै गएको छ। महोत्सवको तेस्रो दिन सकिँदै गर्दा हजारौँ दर्शकले अवलोकन गरिसकेका छन्। पहिलो दिन नै उल्लेख्य सहभागीताका साथ महोत्सव उद्घाटन भएको थियो।
शनिबार चर्चित गायक छेवाङ लामा, अमित चौधरी, विश्व चौधरी, सोनुप चौधरीलगायतका ख्यातिप्राप्त कलाकारहरूले दर्शकलाई प्रशस्तै मनोरञ्जन दिलाए। त्यसमा पनि गायक छेवाङ लामाले आधा दर्जन बढी चर्चित गीत गाएर मनोरञ्जन दिलाए। साथमा रत्ननगर कला मन्दिर र थारूलगायतका विभिन्न जातजातिका आकर्षक नृत्यसमेत प्रस्तुत भए।

त्यसैगरी खिचरा डान्स आइडलको दोस्रो चरणको प्रतियोगितासमेत शनिबार नै सकिएको छ। अडिसनबाट छनौट भएका २५ जना प्रतियोगीमध्येबाट ७ जना फाइनलका लागि छनौट भएका छन्।
खैरहनी मा.वि, खैरहनी–६ का सुमित्रा गिरी, जेसिका चौधरी, नविना भण्डारी, डेजी आवासीय मा.वि.का क्रिष्टिना त्रिपाठी, मदरल्याण्ड इङ्गलिस बोर्डिङ स्कुलको समूह नृत्य, ग्लो–साइन एकाडेमीका सूजा खत्री र हिमाल श्रेष्ठ युगल नृत्य, युनिभर्सल लर्निङ एकाडेमीकी दिपीका चौधरी फाइनलमा प्रवेश गरेका छन्। नृत्य प्रतियोगिताको फाइनल माघ ३ गते हुने नृत्य प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी दिए।
त्यसैगरी भलिबल प्रतियोगिताका सेमिफाइनल खेलसमेत शनिबार नै सम्पन्न भइसकेको छ। सैनिक महाविद्यालय सेकुरिटी ग्रुप र खैरहनी वडा नं. ९ फाइनलमा प्रवेश गरेका छन्। एपिएफ भण्डाराले तृतीय स्थान हासिल गरेको छ।
त्यसैगरी शनिबार नै थारू साहित्य संरक्षणका लागि जिल्ला स्तरीय ‘पेहनी होड’ सम्पन्न भएको छ। पेहनी होडमा थारू कल्याणकारिणी सभा क्षेत्र नं.८ का टोली उत्कृष्ट घोषित भएको छ। टोलीमा टुवर महतो, कानन चौधरी, रामेश्वर चौधरी रहेका थिए।

त्यसैगरी थारू संस्कृति झल्किने चित्रकला प्रतियोगितासमेत शनिबार नै सकिएको छ। प्रतियोगितामा स्काइराइडर आवासीय माविका समर्पण खनाल प्रथम, होली गार्डेन मोर्डन स्कुलका निरज चौधरी द्वितीय, डेजी आमाविका सुगम गौतम तृतीय भएका छन्।
सैनिक आवासीय माविका तृशन आलेमगरले सान्त्वना स्थान हासिल गरे। विजेताहरूलाई शनिबार नै पुरस्कार वितरण गरिएको छ।
महोत्सवअन्तर्गत आइतबार भने चर्चित महेश काफ्ले, आशिष सचिन, मनोज महतो, मुना अर्याल, रोहित चौधरीलगायतका कलाकारहरूले मनोरञ्जन दिलाउने छन्। चलचित्र ‘ह्यारी कि प्यारी’का कलाकारहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, जितु नेपाललगायतको पनि विशेष प्रस्तुति रहनेछ।
महोत्सवको सांस्कृतिक संयोजक जयश चौधरीका अनुसार द नेटिभ्स ब्याण्ड, थारू कलाकार सभाका देव महतो, अरिन चौधरी र रत्ननगर कला मन्दिरका कलाकारहरूबाट पनि विविध सांस्कृतिक प्रस्तुति दिलाउने छन्।


























