भरतपुर। झर्रो भाकामा आधारित गीत ‘काफ्ले’लाई रिलिज भएको ४ दिनमा युट्युबमा १० लाख (१ मिलियन)भन्दा धेरैपटक हेरिएको छ। यो गीत आगामी वैशाख २६ मा प्रदर्शनमा आउने तयारी रहेको चलचित्र ‘ऊनको स्वीटर’मा समावेश छ।
गीतमा स्थानीय लोक संस्कृति र भाकाहरुको संरक्षण र प्रवर्द्धनमा क्रियाशिल रहँदै आएकी गायिका झुमा लिम्बूले आवाज दिएकी छन्। गायनमा उनलाई गायक सुजन चापागाईंले समेत साथ दिएका छन्। युवराज काफ्लेले लेखेको गीतमा संगीत पनि लिम्बूकै छ।
गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल कथा देख्न सकिन्छ । गीतको कथा चलचित्रको मुल कथासँग सम्बन्धित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्र यथार्थफरक शैलीमा बनाइएकाले गीतलाई पनि सोही आधारमा प्रस्तुत गरिएको निर्देशक नवीन चौहानले बताए ।
चलचित्रमा विपिन र मिरुनासँगै सुरुज तमु, विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, भावना खपाङ्गी मगरलगायतका कलाकारको अभिनय रहेको छ । यसअघि चौहानको निर्देशनमा रिलिज भएका ‘म्युजिकल फिल्म’हरु सुपरहिट भएकाले चलचित्रसमेत सफल हुने आशा गरिएको छ।