चितवन । नेपाली कांग्रेसको केन्द्रीय समितिले चितवनका दिनेश कोइराला र तारा पौडेललाई कारवाही गरेको छ। पार्टीको निर्णयविपरीत बागी उम्मेदवार बनेका र प्रस्तावक तथा समर्थकसहित ७४ जनालाई कारवाही गर्ने क्रममा चितवनका दुई नेता पनि कारवाहीमा परेका हुन्। हाल चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेता कोइराला कांग्रेसका केन्द्रीय सदस्य हुन् भने चितवन क्षेत्र नम्बर ३ बाटै प्रतिनिधिसभामा उम्मेदवार बनेका अर्का नेता तारा पौडेल नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ का क्षेत्रीय प्रतिनिधि हुन्।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि ती नेता कार्यकर्तालाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ। ती नेता कार्यकर्तालाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले यसअघि गत स्थानीय तह निर्वाचनमा भुइँकटहर चुनाव चिन्हबाट भरतपुर महानगरको मेयर पदमा उम्मेदवार बनेका जगन्नाथ पौडेल, पूर्व सांसद भीमबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा, महिला नेतृ मीना खरेललगायतलाई कारवाही गरिसकेको छ।
त्यसबाहेक २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध सयपत्री फूल चुनाव चिन्ह लिएर तत्कालीन चितवन-४ बाट उम्मेदवार बनेको भन्दै कांग्रेस केन्द्रीय समितिले चितवन जिल्लाका पूर्वसभापति विकाश कोइरालालाई पनि कारवाही गरेको थियो। उनको कारवाही हालसम्म पनि फुकुवा भएको छैन।


























