काठमाडौँ । जबरजस्ती करणीको मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ। न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइ दिएपछि अभिनेता शाह रिहा हुन लागेका हुन्।
पलले नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत नवलपुरले गरेको फैसलाविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए। नवलपुर जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पोखराले सफाइ दिने फैसला गरेपछि पक्राउ परेको एक वर्षपछि कारागारमुक्त हुन लागेका हुन्।
यसअघि माघ ३ गते तनहुँ जिल्ला अदालतले सफाइ दिइसकेको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका थिए। नवलपुर जिल्ला अदालतले भने जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो।
एक नाबालिकामाथि जबरजस्ती गरेको भन्दै जाहेरी परेपछि अभिनेता शाह गतविरूद्ध वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो। आरोप लागेका शाह भने ४ दिनपछि २०७८ फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्न तनहुँ प्रहरी पुगेका थिए।