चितवन । भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०७९ मा काठमाडौँको चन्द्रागिरी नगरपालिका पहिलो भएको छ। छ स्वर्ण, एक रजत तथा तीन कास्य गरी जम्मा १० पदकसहित चन्द्रागिरी नगरपालिका पहिलो भएको हो। त्यसैगरी, प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ। गैँडाकोटले पाँच स्वर्ण, पाँच रजत र दुई कास्य प्राप्त गरेको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल चितवन शाखाका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए।
त्यस्तै २३ पदकसहित चितवनको भरतपुर महानगरपालिका तेस्रो भएको छ। भरतपुरले चार स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गरेको श्रेष्ठले बताए। प्रतियोगितामा चितवनकै माडी नगरपालिकाले सान्त्वना स्थान हासिल गरेको छ। माडीले दुई स्वर्ण, चार रजत तथा दुई कास्य गरी जम्मा आठ पदक प्राप्त गरेको थियो।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना हुने पालिकालाई ट्रफी प्रदान गरिएको थियो भने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा महिलातर्फ उत्कृष्ट खेलाडीको रुपमा पर्वतको पैयुँ गाउँपालिकाकी प्रतिका थापा तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीकोरुपमा काठमाडौँको चन्द्रागिरीका सुजल कार्की घोषित भए। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी र नगदसहित पुरस्कृत गरिएको थियो। प्रतियोगितामा सातवटै प्रदेशका करिब ३०० खेलाडी सहभागी थिए।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै ग्योरीकी (फाइट) र पुम्सेमा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा पुरुषतर्फ ग्योरीकीमा ३५ केजीदेखि ७४ केजी तौल समूहसम्म तथा महिलातर्फ ३० केजीदेखि ६३ केजी तौल समूहसम्म प्रतिस्पर्धा भएको श्रेष्ठले बताए। पुम्सेमा भने ब्ल्याकबेल्ट सेकेण्ड डनसम्मका खेलाडीहरुको प्रदर्शनी थियो। प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी जम्मा १८ वटा फाइट तथा पुम्सेमा जुनियर र सिनियर गरी चार वटा प्रतिस्पर्धा गरिएको श्रेष्ठले बताए।
प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले मेयर कप प्रतियोगिताले खेलाडीहरु उत्पादन गर्न टेवा पुग्ने बताए। विद्यालय तहदेखि नै विद्यार्थीलाई खेलकुदमा सहभागी गराउन सकेको अवस्थामा उनीहरुमा खेलप्रति उत्साह बढ्नुका साथै अनुशासित हुनेसमेत खनालको भनाइ थियो।