चितवन । युवामैत्री स्थानीय शासन प्रवर्द्वन कार्यक्रममा माडी नगरपालिका छनौटमा परेको छ। सात प्रदेशका सात स्थानीय तह छनौट गर्ने क्रममा माडी नगरपालिका छनौटमा परेको हो। छनौटमा परेपछि माडी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई असार १४ देखि १६ गतेसम्म क्षमता अभिवृद्धि कार्यक्रममा समेत सहभागी गराएको थियो।
नगरप्रमुख ताराकुमारी काजीमहतोका अनुसार युवामैत्री स्थानीय शासन प्रवर्द्वनको पहिलो चरणमा सातै प्रदेशका एक/एक स्थानीय तहको छनौट गरी सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा प्रमुख सरोकारवालाहरूको युवामैत्री स्थानीय शासनका सम्बन्धमा क्षमता अभिवृद्धि कार्यक्रमको शुरूवात गरिएको हो।
युवामैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने प्रभावलाई मध्यनजर गर्दै राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपी र युनिसेफ नेपालले संयुक्तरूपमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रूप दिन साझेदारी गरिरहेका उनले बताइन्।


























