नवलपुर । युवा आख्यानकार सिम्रन क्षेत्रीले पहिलो कृति ‘झुमर’ उपन्यास प्रकाशनमा ल्याएकी छन्। नारायणगढ निवासी क्षेत्रीको पहिलो कृति झुमरको शनिबार गैँडाकोटमा विमोचन गरिएको हो। सम्पूर्ण किताबले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार एवम् समीक्षक एलबी क्षेत्री, भूपिन खड्का, लक्ष्मी बराल, आयोजक संस्थाकी सञ्चालक शिरीषा सापकोटा, लेखकका ससुरा बुबा इन्द्रजीत पराजुली, हजुरबुबा तुलबहादुर थापालगायतले गैँडाकोटमा एकसाथ विमोचन गरेका हुन्।
नारी कथामा आधारित उपन्यास झुमरमार्फत लेखक क्षेत्रीले आधुनिक प्रेम कथालाई बाहिर ल्याउने प्रयास गरेकी छन्। केही वर्षअघि नै कृति प्रकाशनको तयारीमा रहे पनि विभिन्न कारणले प्रकाशनमा ढिलाइ भएको लेखक क्षेत्रीले बताइन्। नयाँ लेखकलाई पुस्तक लेखनमा भन्दा पनि प्रकाशनको लागि ठूलो मिहिनेत गर्नुपर्ने समस्या आफूले देखेको बताइन्।
लेखक क्षेत्रीले साहित्य लेखनको औपचारिक खुड्किलो उक्लिने प्रयास गरेको हुँदा पढेर सल्लाह तथा सुझावको अपेक्षा गरेकी छन्। आफ्नो पहिलो कृति भएकोले यसबाट जन्मिने प्रतिक्रियालाई आफूले सुझावको रूपमा लिने बताइन्। उपन्यासमा नारीसँग सम्बन्धित विषयवस्तुलाई प्राथमिकतामा राखेर बलियो बनाउने प्रयास गरिएको विमोचनका क्रममा आफ्ना धारणा राख्ने वक्ताहरुले बताए।
समीक्षक लक्ष्मी बरालले नारीसँग सम्बन्धित विषयवस्तुलाई गम्भीरताका साथ उठान गरेको बताइन्। समीक्षक भूपिन खड्काले झुमर नक्कली प्रेमको सक्कली कथा भएको प्रतिकृया दिए। ‘प्रेमका अनेक रूप हुन्छन्, अहिलेको प्रेम झन् थरिथरीका हुन्छन्,’ उनले भने, ‘लेखक सिम्रन क्षेत्रीले आधुनिक प्रेमको कथालाई उपन्यासमा सुन्दर ढंगले प्रस्तुत गरेकी छन्।’
कार्यक्रमका प्रमुख अतिथि एलबी क्षेत्रीले महिलाको अस्तित्व वैवाहिक परम्परा र यौन जीवनसँग जोडिने हुँदा झुमरमार्फत नारी अस्तित्वका विविध आयामलाई साहित्यमार्फत बुन्न सफल भएको बताए। लेखक क्षेत्रीले भने नयाँ लेखकलाई कृति तयार पार्नभन्दा पनि प्रकाशन गर्न समस्या रहेको वास्तविकता सुनाइन्। एडिबी पब्लिकेसन्सले प्रकाशन गरेको पुस्तकलाई बुलबुल पब्लिकेसन्सले वितरण गरेको हो। कृति विमोचन कार्यक्रमलाई सञ्चारकर्मी सविता अधिकारीले सहजीकरण गरेकी थिइन्।



























