काठमाडौँ, १८ साउन। नियमित स्वास्थ्य परीक्षणको लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार राति सिङ्गापुर उडेका छन्। साथामा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण हुनेछ । एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्ने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिए। यसअघि ओलीले थाइल्याण्डमा नियमित स्वास्थ्य परीक्षण गर्दै आएका थिए। प्रधानमन्त्री ओली साउन २४ गते शुक्रबार स्वदेश फिर्नेछन्।
पोखरेल कार्यबाहक प्रधानमन्त्री
प्रधानमन्त्री ओली सिङ्गापुर उडेपछि प्रधानमन्त्रीको जिम्मेवारी उप–प्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई दिइएको छ। शनिबारै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पोखरेललाई दिएकी हुन्।
प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम उप–प्रधानमन्त्री पोखरेललाई जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।