चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आगामी पाँच वर्षपछि पनि मेयरको चर्चा उत्तिकै हुने गरी काम गर्ने बताएकी छन्। बुधबार भरतपुर-७ मध्यविन्दु टोलस्थित प्रेमबस्ती कवर्ड हलको शिलान्यास गर्दै मेयर दाहालले भनिन्, ‘मेयर होस् त यस्तो होस् भन्ने बनाउने गरी काम गर्नेछ।’ महानगरवासीको चाहनाअनुसार तीव्र विकास, सुशासन, पारदर्शिता रहेकाले विगतको अनुभवका आधारमा आगामी पाँच वर्षको लागि मैदानमा उत्रिसकेको समेत उनले बताइन्।
‘सबै पक्षले मलाई अत्याधिक मत दिनुभएको छ, उनले भनिन्, ‘यसको लागि म ऋणु छु। यो मेरो अन्तिम कार्यकाल हो। मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिनँ। समय पनि धेरै छ। काम पनि धेरै गर्ने छु। सकेको राम्रो गर्छु।’ विकासका लागि महत्वाकांक्षी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेभन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको उनले दाबी गरिन्। मेयर दाहालले दोस्रो कार्यकालको लागि निर्वाचनको मत परिणाम नआउदै भरतपुरको विकासबारे चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलसँग कुराकानी भएको उल्लेख गरिन्।


























