टेक्सस (अमेरिका) । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल आज खेल्दैछ। लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ। लिगअन्तर्गत अमेरिकामा सञ्चालन भइरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन्।
सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा रहेको मोसा स्टेडियमा सञ्चालन हुनेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनुअघि तयारीस्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागित जनाएको थियो।
लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा सञ्चालन हुने विश्व कप क्रिकेट लिग-२ को खेलअघि गत बिहीबार नेपाली अलस्टार क्लबसँग र दोस्रो खेलमा ह्युष्टन हुरिकेनसँग प्रतिष्पर्धा गरेको थियो, जसमा पहिलो खेलमा अल स्टारसँग नेपाली राष्ट्रिय टोली ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा सन्दीप लामिछानेले आराम गर्दा कप्तानी गरेका रोहित पौडेलको १०१ रनको मद्दतमा नेपाली राष्ट्रिय टोलीले ह्युष्टन हुरिकेनलाई २९ रनले पराजित गरेको थियो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तत्वाधानमा भएको प्रतियोगितामा संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अमेरिकामा व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली अल स्टार क्लबलाई २० हजार डलर सहयोग गरेको थियो। साथै संघले अन्य विभिन्न खालका सहयोगसमेत गरेको थियो।
एनआरएनए एनसिसी युएसए कपको समाप्तीपछि आयोजित कार्यक्रममा संघका तर्फबाट अध्यक्ष बुद्दिसागर सुवेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाललगायतले विजयी तथा उप-विजयी खेलाडी, टोली र अफिसियलहरुलाई अवार्ड तथा प्रमाणपत्र वितरण गरेका थिए। नेपाली राष्ट्रिय टोलीलाई तयारीका लागि सहज होस् भन्ने उद्देश्यले एनआरएनए एनसिसी युएसए कप आयोजना गरिएको थियो।



























