चितवन । राप्ती नगरपालिका वडा नम्बर ६ स्थित हर्दीस्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुवहाक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बिहीबार बिहान करिब साढे ८ बजेको समयमा भएको ना ७ ख ६०७६ नम्बरको बस दुर्घटना हुँदा चितवनका तीन जनासहित १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते हुनेहरुमा चितवनको भरतपुर-१८ बस्ने वर्ष ४५ का भरत ढकाल, भरतपुर-२६ बस्ने वर्ष ५६ का दिलबहादुर विश्वकर्मा र सोही स्थान बस्ने वर्ष ६४ का रेवारे विश्वकर्मा घाइते भएका हुन्। उनीहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
यस्तै मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष ३३ की मञ्जु सिलवाल, बारा जिल्ला कलैया-१६ बस्ने वर्ष ३१ का मनोज गिरी र वर्ष २२ का निरञ्जन पासवान घाइते भएका छन्। प्रहरीका अनुसार भारत रक्सौल बस्ने वर्ष ७० का भोलन गिरी र वर्ष ४५ का उगम पटेल पनि सोही दुर्घटनामा परेर घाइते भएका छन्। यस्तै रौतहट जिल्ला कडरिया-२ बस्ने वर्ष ३० का सुरेश दास र वर्ष १० का आशकुमार यादव पनि घाइते भएका प्रहरीले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। दुर्घटना भएको बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकोले खोजी कार्य भइरहेको उनले बताए।


























