चितवन । उद्योग वाणिज्य संघ–चितवनले आयोजना गरेको दुई दिने वेकरी बनाउने तालिम सकिएको छ। जेठ २४ र २५ गते आयोजित तालिममा ४५ जना सहभागी थिए। स्पाउज क्लब अफ आरसी चितवनसँगको सहकार्यमा तालिम आयोजना गरिएको तालिमकी संयोजक योगिता पियाले जानकारी दिइन्। आफूले सिकेको अनुभवलाई प्रदर्शन गरेर आर्थिक उपार्जनमा थप टेवा पुर्याउन सकिन्छ भन्ने उद्देश्यले तालिम आयोजना गरिएको उनले बताइन्।
संघका अध्यक्ष चुननारायण श्रेष्ठले वेकरीसम्बन्धी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई थप सीप सिक्ने अवसर मिलेको बताए। सीप तथा क्षमता विकाससम्बन्धी तालिमलाई संघले पनि प्राथमिकताका साथ सम्बन्धित क्षेत्रसँग सहकार्य र समन्वय गरेर आयोजना गर्दै आइरहेको उनको भनाइ छ।
स्पाउज क्लब अफ आरसी चितवनकी अध्यक्ष कविता चुकेले तालिमबाट महिलाहरूलाई थप सशक्त बनाउनुका साथै आफूले गरिरहेको व्यवसायमा समेत थप निखारता ल्याउनमा ठूलो मद्दत पुग्ने बताइन्।
प्रशिक्षार्थीहरूले भने आधारभूत तालिम प्राप्त गरिसकेपछि अतिरिक्त तालिमको व्यवस्था पनि मिलाइदिन आग्रह गरेका छन्। दुई दिनसम्म लिएको तालिम पहिलो खुड्किलो भएको भन्दै अझ दक्षता हासिल गर्न अतिरिक्त तालिमको अवाश्यकता पर्ने प्रशिक्षार्थी स्वस्तिका तिवारीले बताइन्।
तालिममा ज्योती जोशीले प्रशिक्षण दिएकी थिइन्। बुधबार भएको समापन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी तथा कार्यसमिति सदस्य एवम् स्पाउज क्लब अफ आरसी नारायणगढका पदाधिकारीलगायतको समेत उपस्थिति थियो।


























