काठमाडौं, १७ मंसिर। तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएपछि रजत पदकमै सिमित भएको छ। नेपाल भारतसँग फाइनलमा ३–२ ले पराजित भएको हो।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपालले पहिलो सेट १७–२५ अङ्कले गुमायो। नेपालले लगातार दोस्रो र तेस्रो सेट जित्दै खेल आफ्नो पक्षमा पार्यो। नेपालले दोस्रो सेट २५–२४ अङ्कले तथा तेस्रो सेट २५–२१ अङ्कले जितेको हो।
चौथो सेट नेपालले २०/२५ अङ्कले गुमायो। अन्तिम सेट एकतर्फीरुपमा भारतलाई सुम्पिएपछि नेपाल इतिहास रच्नबाट चुक्यो। भारतले उक्त सेट १५/६ अङ्कले जित्यो।
नेपालले सागमा महिला भलिबलमा रजत पदक हात पारेको पहिलो पटक हो। यसअघि नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य मात्रै जितेको थियो। भारतले मंगलबारै सम्पन्न सागअन्तर्गतको पुरुष भलिबलमा पाकिस्तानलाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो। – रासस