गोरखा । पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी गठबन्धन भएको छ। पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उमेदवार दीपकबाबु कँडेलले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो उमेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो। विज्ञप्तिमा कांग्रेसले दोस्रो पटक पुनः उमेदवार चयन गरे पनि पछिल्लोपटक केन्द्रीय समितिले उमेदवारी फिर्ता लिन दिएको निर्देशन आफूले स्वीकार गरेको उल्लेख छ।
“स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति म पूर्ण इमान्दार रहेको छु”, विज्ञप्तिमा भनिएको छ, “दोस्रो पटक पनि उमेदवार चयन गरेकोमा पार्टीको गण्डकी प्रदेश समिति र केन्द्रीय कार्यसमितिप्रति धन्यवाद प्रकट पनि गर्दछु।” उनले सरकारमा सहभागी पाँच दलबीच भएको सहमति र निर्णयअनुसार गठबन्धनमा रहेका दलहरु बीच स्थानीय तहमा चुनावी तालमेल र सिट बाँडफाँटको निर्णय भएअनुसार उमेदवारी फिर्ता गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
विज्ञप्तिमा नेता कँडेलले पार्टी केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी कार्यकर्तालाई पार्टीको निर्णय कार्यान्वयन गर्न पनि अपिल गरेका छन्। पालुङटारमा मेयर जसपालाई र उपमेयर कांग्रेसले लिने दुई पार्टीबीच सहमति भएको थियो।


























