चैत्र ८ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजअ नेपालले आज मंगलबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ।
दुबई क्रिकेट रंगशालामा नेपालले पीएनजीको सामना गर्नेछ। नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।
नेपालले यस अघि पीएनजीविरुद्ध तीन एकदिवसीय खेल खेलेको छ। सबै खेलमा नेपालले जित निकालेको छ। तर पछिल्लो समय नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दै आएकोमा नेपाललाई पीएनजीविरुद्ध खेल्न सहज हुने छैन।
यूएई सिरिजमा नेपाल तथा पीएनजीको अन्तिम खेल हो। अन्तिम खेलमा दुवै टोली जितका साथ सिरिज अन्त्य गर्न चाहन्छन्। यूएई सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ। दुवै खेल नेपालले यूएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा यूएईलाई हराएको थियो।
पीएनजीले भने सुरुआती दुई खेलमा हार व्यहोरेको थियो। तर तेस्रो खेलमा भने जित निकाल्न सफल भएको थियो।
लिग टु मा कमजोर देखिएको पीएनजीले यूएईलाई पराजित गरेसँगै उसको मनोबल उच्च भएको छ। लगातार १४ खेलमा पराजय व्यहोरेको पीएनजी यूएईलाई हराएर २ जोड्न सफल भएको थियो।
नेपाल पछिल्लो खेलमा कमजोर ब्याटिङ गर्दै सामान्य लक्ष्य भेट्टाउन नसकेको बेला पीएनजीको खेलमा जित निकाल्न सामान्य संघर्षले नपुग्ने अनुमान गर्न सकिन्छ।
पीएनजी पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपासँग २ विकेटले हार व्यहोर्द तेस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै पुनरागमन गरेको थियो।
लिग टुमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा छ। लिग टुमा नेपाल सर्वाधिक कम खेल खेल्ने राष्ट्र हो। यस अघिका खेलमा पीएनजीलाई २ विकेटले हराउँदा नेपाल यूएईसँग ४८ र ९९ रनले पराजित भएको थियो।


























