काठमाडौं, चैत्र ८ । १८ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आज विशेष समारोहकाबीच हुँदैछ।
नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने जनाएको छ। अवार्ड कार्यक्रम दिउँसो पाैने ३ बजे सुरु हुनेछ।
मञ्चले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको जनाएको छ। यसपटक अवार्डलाई ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागिएको मञ्चले जनाएको छ।
पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न १० विधामा प्रदान गरिनेछ। कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड दिईने मञ्चले जनाएको छ।
अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयनमा पाँच खेलाडी रहेका छन्। यसपटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन्।
पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबारनै गरिने छ।
यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
अवार्ड कार्यक्रम नेपालका प्रमुख टेलिभिजन च्यानलहरु एनटीभी प्लस एचडी, एनटीभी न्युज, एक्सन स्पोर्टस एचडी, इमेज च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ। यसका साथै एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज र खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण गरिनेछ।
अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ । अवार्डलाई सूर्य नेपाल प्रालि, ई–सेवा, डिस मिडिया नेटवर्क, केल्मी नेपाल, प्लाजा होटल ग्रुप, रोयल सिंगी होटल, इमेजिङ, नबिल इन्भेस्टमेन्ट बैंकिङ, रुस्लान लगायतले सहप्रायोजन गरेका छन्। साथै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीले सहयोगी भूमिका निर्वाह गरेका छन्।


























