चैत्र ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले रोमान्चक जित निकालेको छ।
शुक्रबार राति भएको खेलमा लिड्सले उल्भ्सलाई ३-२ गोल अन्तरले हराएको हो। खेलको २६ औं मिनेटमा जोनीले गोल गर्दै उल्भ्सलाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को त्रिन्काओले गोल गर्दै उल्भ्सलाई २-० को अग्रता दिलाए। तर, खेलको ५३ औं मिनेटमा राउल जेमिनेजले रातो कार्ड पाएपछि उल्भ्स १० खेलाडीमा समेटियो।
६३ औं मिनेटमा ज्याक ह्यारिसनले गोल गर्दै लिड्सलाई २-१ को स्थितिमा ल्याए। खेलको ६६ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई २-२ गोलको बराबरीमा ल्याए।
त्यसपछि खेलको इन्जुरी समयमा लुक एलिङले गोल गर्दै लिड्सलाई ३-२ को रोमान्चक जित दिलाए। यस जितसँगै लिड्सले ३० खेलमा २९ अंक जोडेको छ।
लिड्स १६ औं स्थानमा रहेको छ। उल्भ्स ४६ अंक जोडेर आठौं स्थानमा रहेको छ। एजेन्सी


























