काठमाडौँ, फागुन ७ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
प्रजातन्त्र दिवस–२०७८ को अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपतिले भनेका छन्, ‘विभिन्न कालखण्डमा भएका सशस्त्र सङ्घर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२र६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपब्धीलाई संविधानले संस्थागत गरिसकेको छ । यी उपलब्धीको संरक्षण र रक्षामा हामी सबैले जोड दिनुपर्दछ।’
ऐतिहासिक जनआन्दोलनमार्फत् सार्वभौम नेपाली जनताले निरंकश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिनको रुपमा यस दिवसलाई लिइएको स्मरण गर्दै उपराष्ट्रपतिले प्रजातन्त्र प्राप्तीका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुती दिनुहुने महान वीर वीरंगनाप्रति श्रद्धासुमन अर्पण गरेका छन्।
प्रजातन्त्र प्राप्तीपछि पनि नेपाली जनताले विभिन्न कालखण्डमा ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र सङ्घर्ष गर्नुपरेको भन्दै उनले प्रजातन्त्र दिवसको अवसरमा शुभकमना दिएका छन्। रासस


























