फागुन ७ । भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज एक खेल अगाबै जितेको छ।
कोलकत्तामा शुक्रबार राति भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ रनले हराउँदै भारतले सिरिज जितेको हो। भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो।
वेस्ट इन्डिजका रोभम्यान पावेलले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्।
यस्तै निकोलस पुरनले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । ब्राण्डन किङ २२ तथा केली मेयर्स ९ रनमा आउट भए।
भारतका युजभेन्द्र चाहल, भुवनेश्वर कुमार र रबी बिस्नोईले १र१ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन जोडेको थियो।
भारतका लागि ऋषव पन्तले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले। विराट कोहलीले पनि ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा भेन्कातेस आयरले ३३ रन जोडे।
कप्तान रोहित शर्माले १९ रन जोड्दा आउट भए। वेस्ट इन्डिजका रोस्टन चेसले ३ विकेट लिए।
यस जितसँगै भारतले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ।


























