काठमाडौँ, फागुन ५ । सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए। नेताहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनलाई जोगाएर एमसिसीलगायतका विषयलाई निष्कर्षमा लैजानेबारे कुराकानी भएको जानकारी दिए।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ। सोही बैठकको तयारीका लागि आफूहरुले छलफल गरेको जानकारी दिँदै अध्यक्ष दाहालले भने, “हामी गठबन्धनलाई कसरी बचाउने र एमसिसीबारे कसरी निकास दिने भन्नेमा नै केन्द्रित छौँ।” उनले पाँच दलको बैठकमा छलफल गरेर एउटा निष्कर्ष निकाल्नेमा नै जोड रहेको बताए।
अध्यक्ष दाहालले आफूहरु गठबन्धनलाई जोगाएर अन्य विषयमा सहमति गरौँ भन्ने मनसायमा रहेको बताए।
बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेताहरुले धेरै बोलेर कुरा बिग्रेको भन्दै आफूले अहिले केही पनि नबोल्ने प्रतिक्रिया दिए।


























