काठमाडौं, फागुन ५ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी जिल्लाहरूको अधिवेशन मिति पुनः सारिएको छ। बिहीबार केन्द्रीय निर्वाचन समितिले बाँकी जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको हो।
यसअघि पार्टी केन्द्रीय निर्वाचन समितिले माघ २८ गते निर्णय गर्दै फागुन १३ गते बाँकी रहेका १६ जिल्लाको अधिवेशन गर्ने जानकारी दिएको थियो। तर, जिल्ला अधिवेशन आउन ८ दिन अगावै समितिले पुनः मिति सारेको हो।
पार्टीको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लाको जिल्ला अधिवेशन गर्न बाँकी छ।
यस्तै १६ जिल्लाबाहेकका जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका निर्वाचन भने फागुन १० भित्र गरिसक्ने समितिले जानकारी दिएको छ।
निर्वाचन समितिले तल्लो तहका कार्यसमिति पदाधिकारी वा सदस्य पदमा उमेदवार भई पराजित भएको व्यक्तिहरूलाई पुनः जिल्ला कार्यसमितिको कुनै पनि पदमा उमेदवार बन्न नपाउने परिपत्र पनि गरेको छ।
तर महाधिवेशन प्रतिनिधिको उमेदवार भई पराजित भएका क्षेत्रीय प्रतिनिधिले एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा सभापतिबाहेकका अन्य पद र तहको पदाधिकारी र सदस्य पदमा उमेदवार बन्न पाउने भनी परिपत्र गरिएको छ।


























