काठमाडौँ, फगुन ५ । सत्तारुढ गठबन्धनको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नहुने भएका छन्।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा टेवल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बोलाइएको बैठकमा यादव नजाने भएका हुन्।
‘अध्यक्ष उपेन्द्र यादवज्यु गठबन्धनको आज बस्ने बैठकमा जानुहुन्न। उहाँ अहिले सिरहामा हुनुहुन्छ। बिभिन्न पार्टी त्यागी जसपामा प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ,’ जसपा, नेपालका प्रमुख सचेतक प्रमोद साहले भने।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेपका एस (एकीकृत समाजवादी), जसपा, नेपाल र राष्ट्रिय जनमोर्चाबीच एमसीसीका विषयमा मतभेद बढेपछि सहमति जुटाउन आज बैठक बोलाइएको हो।
सत्तारुढ पाँच दलमध्ये कांग्रेस मात्र एमसीसी अहिलेकै अवस्थामा अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ। बाँकी चार दल एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन्।


























