फागुन २ । चारदेशीय टी–२० शृंखलाअन्तर्गत नेपालले आयरल्याण्डविरुद्ध सानदार सुरुवात गरेको छ। टस हारेर ब्याटिङ गरेको टेष्ट राष्ट्र आयरल्याण्डले पावर प्ले (६ ओभर) को समाप्तिमा ३ विकेट गुमाएर ३५ रन जोडेको छ।
पहिलो ओभरको चौथो बलमै कमलसिंह ऐरीले आयरल्याण्डका विष्फोटक ओपनर ब्याटर पल स्टर्लिङलाई बोल्ड गरेका थिए।
तेस्रो ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाले ग्यारेथ डेलानीलाई कट एण्ड बल गरे। चौथो ओभरको चौथो बलमा अविनाश बोहोराले आयरल्याण्डका अर्का ओपनर एण्डी बाल्बिर्नीलाई १९ रनको स्कोरमा बोल्ड गरे।
शृंखलाको अघिल्ला दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको नेपाली टोलीमा आज अविनाश बोहोरो, कुशल मल्ल र कुशल भुर्तेल टिममा फर्किएका छन्।
युएईसँगको खेलमा सुरुवाती ११ मा रहेका साहव आलम, विवेक यादव र आरिफ शेखलाई आराम दिइएको छ। मल्ल र भुर्तेलले यसअघिका दुई खेल खेलेका थिएनन्।
नेपालले शृंखलाको पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानसँग २५ रनको हार ब्यहोरेको थियो।
नेपालले आयरल्याण्डमाथि ठूलो अन्तरको जित हासिल गरेको खण्डमा शृंखला जित्ने सम्भावना छ। आजै केहिबेरअघि सम्पन्न खेलमा ओमानले युएईलाई ७ विकेटले पराजित गरेपछि उपाधिमा नेपाल र आयरल्याण्ड दुवैको अवसर खुलेको हो। ३ खेलबाट युएईको ४ अंक छ भने आयरल्याण्ड र नेपालको २–२ अंक छ।


























