काठमाडौं, फागुन २ । यही फागुन १ गतेदेखि नागरिक एपबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने सुविधा सुरु भएको छ। हाललाई ई-सेवा र खल्ती डिजिटल वालेटबाट त्यसको रकम भुक्तानी गर्न सकिन्छ।
आज हामी तपाईँलाई नागरिक एपबाट ब्लुबुक नवीकरण कसरी गर्ने भन्ने विषयमा विस्तृत जानकारी दिँदैछौँ। हाललाई बागमती प्रदेशमा मात्रै यो सेवा उपलब्ध रहेको छ।
कसरी नवीकरण गर्ने ब्लुबुक ?
-सबैभन्दा पहिला आफ्नो स्मार्टफोनमा नागरिक एप खोल्नुहोस् र लग-ईन गर्नुहोस्।
-त्यहाँ भित्र गाडीको आइकन भएको भेहिकल ट्याक्स (सवारी कर) को विकल्पमा जानुहोस् र आफ्नो सवारी साधनको विवरण भर्नुहोस्।
-तपाईँको सवारीसाधनको नम्बर अञ्चल वा प्रदेश कुन आधारमा दर्ता छ त्यसै अनुसार आवश्यक विवरण भर्दै जानुहोस्। त्यसमा प्रदेश ३ वा बागमती प्रदेश उल्लेख गर्नुहोस् र आफ्नो सवारीसाधन दर्ता रहेको कार्यालय छनौट गर्नुहोस्।
-त्यसपछि सवारीसाधनको किसिम छान्नुहोस् र आफ्नो सवारीको लट नम्बर तथा सङ्केत उल्लेख गर्नुहोस् र सवारी साधन नम्बर भर्नुहोस् अनि अन्तिममा रहेको सर्च बटनमा थिच्नुहोस्।
-यति गरिसकेपछि यदि तपाईँले विवरणमा उल्लेख गरेको सवारीसाधन बागमती प्रदेशको यातायात व्यवस्थापन सूचना प्रणालीको सर्भरमा भेटिएको खण्डमा त्यसको विस्तृत विवरण आउँछ।
-आफ्नो सवारीसाधनको विवरण फेला परेको अवस्थामा दायाँबाट बायाँतर्फ स्वाइप गर्नुहोस्। त्यहाँ तपाईँले आफ्नो सवारी साधनको कर, जरिवाना सहित बुझाउन बाँकी नवीकरण दस्तुरको हिसाबकिताब देखा पर्छ। त्यसको अन्तिममा रहेको ‘पे नाउ’ लेखिएको बटनमा दबाउनुहोस्।
-यति गरिसकेपछि त्यहाँ तपाईँले भुक्तानी गर्न बाँकी नवीकरण दस्तुरको विवरण देखा पर्छ। त्यसको मुनीको बटनमा थिच्नुहोस् र आफूलाई पायक पर्ने कार्यालय छनौट गर्नुहोस्।
-अब अन्तिममा भुक्तानीका विकल्पहरू देखिन्छन्, त्यसमध्ये कुनै एउटा छनौट गर्नुहोस् र लग-ईन गरी नवीकरण दस्तुर बुझाउनुहोस्।
-अब नागरिक एपमा जानुहोस् र अघि आफ्नो सवारीको विवरण देखिएको स्थानमा गएर बाँयातर्फ आफूले भुक्तानी गरेको सवारी करको विवरण हेर्न सक्नुहुन्छ। त्यहाँबाट भर्खरै आफूले भुक्तानी गरेको पछिल्लो करको बिजक डाउनलोड गर्नुहोस्।
-अब आफ्नो अनुकूलता अनुसार कुनै बीमा कम्पनीबाट थर्डपार्टी इन्स्योरेन्स गर्नुहोस्। तपाईँले ई-सेवा लगायतका केही वालेटबाट समेत यस्तो इन्स्योरेन्स पोलिसी खरिद गर्न सक्नुहुन्छ।
-यति गरिसकेपछि थर्डपार्टी इन्स्योरेन्स र भर्खरै डाउनलोड गरेको बिजक प्रिन्ट गरेर ब्लुबुकको साथमा नजिकैको यातायात कार्यालय जानुहोस् । -त्यहाँबाट तपाईँको ब्लुबुक नवीकरण हुनेछ।


























