चितवन ९ मंसिर । चितवन प्रहरीले जिल्लाकाे राप्ती नगरपालिकाकाे विभिन्न क्षेत्रमा व्यावसायिकरुपमै लगाएकाे गाँजाखेती नष्ट गरेकाे छ। राप्ती नगरपालिकाकाे वडा न. ११ मा पर्ने डिटार, गाल्चन भन्ज्याङ्ग, कुचुरभित्ता, सुरकुन्डेभित्ता, मास्कीडाँडा, वडा नं. १२ को धानवाङ गैरी, यउरालीटार, हुमपुङ, चाटराङ, कामीडाँडा, वतैलपोखरी र वडा नं. १३ को कालिटार, मेटाङक्लौ, च्योदिङ, बाङसिलिङ र कालीखोला क्षेत्रमा गरी करिब ५० विगाह क्षेत्रफलमा लगाइएकाे गाँजाखेती नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए। नेपालमा गाँजा खेती प्रतिबन्धित खेती हाे।
२०७७ साल मंसिर ६ गतेदेखि ८ गतेसम्म २ जना प्रहरी निरीक्षक सहित ५० जना नेपाल प्रहरी र एकजना सशस्त्र प्रहरी निरीक्षकसहित २१ जना सशस्त्र प्रहरीकाे टाेली त्यस क्षेत्रमा परिचालन गरी अवैधरुपमा लगाइएकाे गाँजाखेती नष्ट गरिएकाे उनकाे भनाइ छ। किसानले लगाएकाे करिब ३६ लाख रुपैयाँ बराबरकाे गाँजाकाे बिरुवा फाँडेर नष्ट गरिएकाे उनले बताए। गाँजाखेती नष्ट गरेपछि साे क्षेत्रका वडाका स्थानीयसँग अन्तर्क्रिया गरेर यसबाट समाज र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे सचेत गराइएकाे उनले बताए।
