काठमाडौं, फागुन १ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधीन रहेका बेला अध्यक्ष नेपालको यस्तो भनाई बाहिर आएको हो। उनले आफ्नो पार्टीले कानुनी आधारमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रूपमा स्वीकार गर्ने स्थिति बनाइएको दाबीसमेत गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन मिलेर तीन वटै तहको निर्वाचनमा जाने भन्दै स्थानीय तहको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए। उनले भने, ‘हामी वैधानिक रूपमा निर्माण भएको पार्टी हौं। हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं। र, सांसदको रूपमा स्वीकार गर्ने स्थिति पनि बनाएका छौं। यसमाथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउने खोज्छ भने हामी सहन गर्दैनौं।’
उनले वैशाख ३० मा तोकिएको चुनावका लागि आफ्नो पार्टी तयारी गरिरहेको बताएका छन्। उनले सबै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर जाने बताएका छन्।
अध्यक्ष नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताए। उनले एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे।
अध्यक्ष नेपालले भने, ‘एमसीसी भन्ने अमेरिकाबाट प्राप्त भएको सहयोगको विषय पनि नेपाली समाजमा निकै ठुलो बहस र विवादको विषय बनेको छ। यो विषयको बारेमा हामी अझै पनि छलफल चलाइरहेका छौं। विषयवस्तुमा प्रवेश गर्न पनि चाहिरहेका छौं। जनताको भावना के छ त्यो पनि बुझ्न खोजिरहेका छौं। फैलिएका आशंकाहरू के–के छन् त्यो पनि बुझ्न चाहिरहेका छौं।’
उनले जनताको भावनामा ठेस नपुग्नेगरी, देशको हितमा कुठाराघात नहुनेगरी र सबै मित्रराष्ट्रसँग राम्रो सम्बन्ध कायम हुनेगरी समस्या समाधान गर्न आफूहरू तयार रहेको उनले बताएका छन्।


























