काठमाडौं, माघ २९ । निर्वाचन आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेजीको माग गर्दै परेको उजुरीमा कारवाही गर्न नपर्ने निर्णय गरेको छ। चौधरीका निकटतम प्रत्यासी सुभाषचन्द्र यादवले चौधरी अवैधानिक बाटोबाट केन्द्रीय सदस्य बनेको भन्दै उनको पद खारेज गरी आफ्नो नाम समावेश गर्न निवेदन दिएका थिए।
आयोगको १८ माघमा बसेको बैठकले यादवको उजुरीमाथि थप कारवाही गरिरहन नपर्ने निर्णय गरेको हो। कांग्रेस विधानअनुसार चौधरी कांग्रेसको १० वर्षसम्म क्रियाशील सदस्य नरहेको दाबी गर्दै निर्वाचन समितिमा उजुरी गरेका थिए। तर, निर्वाचन समितिले उनको उजुरी खारेजी गरेको थियो।
पछि यादवले निर्वाचन आयोगमै उजुरी गरेका थिए। आयोगले त्यसबारे कांग्रेसको केन्द्रीय निर्वाचन समितिसँग सोधेको थियो। आयोगले पार्टीको निर्वाचन समितिले पहिल्यै विधान, निर्देशिका बमोजिम उजुरी खारेजी गरेको देखिएको भन्दै त्यसमाथि थप कारवाही गर्नुपर्ने नदेखिएको स्पष्ट गरेको हो।
‘चौधरीको केन्द्रीय समिति सदस्यमा निर्वाचित हुने योग्यता नपुगेको भनी निवेदकले केन्द्रीय निर्वाचन समितिमा उजुरी गरेकोमा सो उजुरी उपर निर्वाचन समितिले छानविन गरी नेपाली काँग्रेसको विधान, नियमावली र निर्वाचन निर्देशिका बमोजिम निवेदन खारेज गरेको देखिएको र सो निर्णय निर्वाचन निर्देशिका, २०७८ को दफा १० बमोजिम अन्तिम हुने भनि लेखि आएको हुँदा निवेदन उपर थप कारबाही गरिरहन परेन,’ आयोगको निर्णयबारे आयोगका कानुन अधिकृत मोहनराज जोशीले भनेका छन्।


























