खाँदवारी। सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ। मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो। आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचेपछि अरुण नदीमा खसेको थियो। ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए। उनका अनुसार बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ।

पुलको क्षमताभन्दा बढी सामग्री बोकेर एकै पटक तीनवटा ट्रक तर्ने क्रममा पुल भाँचिएको उनले बताए। तीनवटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ जाने क्रममा भाँचिएको उनको भनाइ छ। पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको उनले बताए।
चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन्। २०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो। (रासस)


























