काठमाडौं, माघ १५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली समाजको परिवर्तनमा सञ्चारक्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्वूर्ण रहेको बताएका छन्।
माओवादी केन्द्रमा आस्था राख्ने पत्रकारहरुको संस्था प्रेस सेन्टरको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिदै पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरका भूमिका उल्लेखनीय रहेको बताएका हुन्।
मुलुकका हरेक परिवर्तनहरुमा सञ्चारक्षेत्रको विशेष भूमिका हुने भन्दै प्रचण्डले मुलुकको आमुल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका विर्सन नहुने बताएका छन्।
आगामी दिनमा समेत समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेमा आफू विस्वस्त रहेको उनले बताएका छन्।
‘१८ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपालका संस्थापकहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति, प्रतिस्ठान, एशोसियट, विदेश शाखाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू र सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्, ‘आगामी दिनमा पनि समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफुलाई उभ्याउनेछ भन्ने विश्वास लिएको छु।’


























