मिनेसोटा, जेष्ठ १६ । हिरासतमा राखिएका एक व्यक्तिको मृत्यु भएपछि अमेरिकाको मिनेसोटा राज्यमा प्रदर्शन भएको छ।प्रदर्शनका क्रममा मिनियापोलसमा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ।
लगातारको प्रदर्शनले दोस्रो दिन पनि मिनेसोटा क्षेत्रको अवस्था तनावग्रस्त बनेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शनकारीले प्रहरीलाई ढुंगा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको छ।
श्वेत प्रहरी अधिकारीले जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिलाई पक्राउ गर्ने क्रममा बाटोमै घाँटीमा घुँडाले च्यापेको सार्वजनिक भएपछि उक्त प्रकरणमा रंगभेदको मुद्दा मिसिएको छ।
फ्लोइडको गएको सोमबार निधन भएपछि शिकागो, इलोनाइस, लस एन्जलस, क्यालिफोर्निया र टेनिसीको मेम्फिससहितमा पनि प्रदर्शन भएका छन्।
हिरासतमा लिइएका उनको निधनपछि सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो। उक्त प्रकरणपछि मिनियापोलस प्रहरी अधिकारीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ।


























